बेलायत निवासी तिगेलाद्वारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

लन्डन । बेलायत निवासी पत्रकार तथा लेखक विश्वासदीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गर्नुभएको छ ।

तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई पटकपटक सहयोग गर्दै आउनुभएको छ । गत २१ माघ २०८१ का दिन भारती माध्यमिक विद्यालय छथर जोरपाटी १, धनकुटालाई यसपटक ५ लाख रुपैयाँ खर्चगरी खेलमैदानको आकारलाई बढाउने, खेलमैदानको एकछेउमा स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरी प्रवेशद्वारमा फलामको ढोका लगाई, खेलमैदानको वरिवरि तारजाली लगाएर दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपबाट विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयको प्रधानाध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गर्नुभएको हो ।

तिगेलाले उक्त जग्गा वि.स. २०६९ मा १ लाख ३८ हजार रुपैयाँमा किनेर विद्यालयलाई दिनुभएको थियो भने सोही विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन २०६६ मा ५० हजार प्रदान गर्नुभएको थियो । उहाँ त्यो बेलाका उच्च मावि बनाउनको निमित्त सबैभन्दा ठूलो दातासमेत रहनु्भएको थियो ।

विद्यालय व्यवस्थापन समितिले दाता तिगेलाले किनेर, बनाएर दिएको खेलमैदानको नाम विश्वासदीप तिगेला खेलमैदान नामाकरण गरेको छ ।खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्घाटन स्थानीय छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता खेवाले गर्नुभएको थियो । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार ब्यक्त गर्नुका साथै खेलमैदानमा वार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिकामार्फत पहल गर्ने प्रतिबद्धता समेत आश्वासन दिनुभयो ।

त्यसैगरी वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बुले विद्यालयलाई साँचिचीकै आवश्यक परेको बखत जग्गा किनिदिनु हुने दाताप्रति आभार ब्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक भिम बहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताको चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामकरण बैठकमा संयुक्त रुपबाट निर्णय गरेको जनाउनुभयो ।

विद्यालयको तर्फबाट दाता दम्पतीलाई दोसल्ला ओडाई सम्मान गरियो भने दाता तिगेलाले आफूलाई पढाउनुहुने गुरुवर भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान व्यक्त गर्नुभयो । तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधैं सम्झने, सम्मान गर्ने गरेको बताउनुभयो । आफूसँग प्रशस्त पैसा भएर नभइ, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु आफ्नो दायित्व सम्झेर दुःख गरी कमाएको पैसा विद्यालयलाई दिएको प्रस्ट पार्नुभयो । उहाँले विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।दाता तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय शारदा माध्यमिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएको, करिब डेढदशक अघि कम्प्युटर सहयोग गर्नुभएको थियो । पटकपटक खेलकुदको सामग्री प्रदान गर्नुभएको थियो ।

त्यस्तैगरी तिसमुरे डाँडामा ४ कोठे सिरिजंगा प्राथमिक विद्यालय निर्माण गर्दा पूरै च्यादर र काठ किनिदिनुभएको थियो । सरस्वती पुजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थी नानीहरुले दर्जनभन्दा बढी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सभापतित्व होमकुमार लिम्बुले गर्नुभएको थियो भने संचालन शिक्षक प्रेम कार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री