बेलायत आउने निर्णय गर्दा स्थायी रुपमा यही नै बसोबास होला भन्नेकल्पना पनि गरिएको थिएन । शायद हामी प्रायः परदेशीहरुको यही अवस्था हुनसक्छ । आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि भने यहीँकै नागरिकता पाउने हतारो हुने । त्यतिन्जेलसम्म बेलायत छाडेर अन्त कतै जान र फेरि फर्कन पाउने सुविधा थिएन । त्यसैले करिब सातवर्ष “देशबन्दी” (नजरबन्द)को अनुभव पनि संगालियो जीवनमा । स्थायी अनुमतिको कागज मात्रै पाइयोस् न सारा संसारको चक्कर तुरुन्तै लगाइन्थ्यो जस्तो लाग्थ्यो ।
खै कसरी हो एकपटक संसार घुम्ने इच्छा ममा पनि पलायो । श्रीमतीलाई सुनाउँदा उनी पनि यसको लागि आतुर भइन् । अब केही वर्षपछि परिवारको आधारभूत भूमिका सकाएर विश्व सयर गर्ने रहर पूरा गर्ने योजना बनाउँदैछौँ । मेरो राजनीतिक, सामाजिक सक्रियताको कारणले होला धेरै शुभचिन्तकहरुमार्फत अब नेपाल नै फर्केर केही जिम्मेवारी लिनपर्छ भन्ने सुझाव पाउने गरेको छु । तर मेरो यही संसार घुम्ने सपनाले रातो पासपोर्ट नत्याग्ने विचारमा छु । जहाँ मन लाग्यो, जतिखेर मन लाग्यो, निस्कन पाउने यो हतियार छाडेर फेरि भिसाको लागि आवेदन दिनपर्ने, पर्खनपर्ने झन्झटिलो बाटो किन रोज्ने भन्ने लागेको छ । देशको लागि केही गर्न राजनीतिक जिम्मेवारी वा पद नै लिनैपर्छ भन्ने नलागेर पनि होला म यो निर्णयमा अडिग छु ।
यसबीचमा पारिवारिक, राजनीतिक, एनआरएन भेटघाट तथा बैठकहरु अनि केही नितान्त बिदा मनाउन मेक्सिको र युइए लगायत युरोपका १८ वटा देशहरु भ्रमण गरेको रहेछु । सबैभन्दा धेरैपटक बेल्जियम पुगेको रहेछु । शायद हाम्रो विवाहको बीसौँ वर्षगाँठ भएर होला माल्टाको भ्रमण अविश्मरणीय रह्यो । पहिलोपटक बेलायत छोड्ने मौका जुरेको मिनुको दाज्यु भुपेन्द्र शाक्यको दिक्षान्त समारोहमा सहभागी हुन जाँदा फ्लेन्सबर्ग (जर्मनी)को दृश्य, स्वीटजरल्याण्ड जाँदा इन्टरल्याकनमा बसेर योङ्गफ्रावसम्म रेलबाट भ्रमण गरेको, पेरिसमा पहिला युकेमा साथै बसेका सीबी घलेसँग दिन बिताएको, मित्र किशोर सापकोटासँग स्पेन भ्रमण त्यहाँ भयकंर ठूलो रेस्टुरेन्टमा सीफुड खाएको, हेगमा बुद्धको प्रतिमा स्थापना गरेको, नर्वेको पहाडमा जलपरी जस्तो देखिनेहरुले नाचेको, भियना (अस्ट्रिया) मा अन्जिता बहिनीको हातको मीठो खाना खाएको, इन्स्ब्रुक (अस्ट्रिया)मा दिपेन्द्रजीको घरबाट देखिने मनोरम हिमालका श्रृंखलाहरु, चेकमा जितेन्द्रजीको आतिथ्य, स्लोभाकियामा धर्मराज खतिवडासँग युरोपकै ठूलो पवमा लन्च, गोथेन्वर्ग (स्विडेन) मा आफ्नै जिल्लाका साथी कृष्ण ढकालजीको घरमा आगो ताप्दै रेड वाइनको साथमा झन्डै रात काटेको, अजमान (युएइ) मा भतिज लक्ष्मणकोमा बिताएका दिनहरु विशेष सारजहाँको सफारी, टाइट्यनिक दुर्घटना हुन अगाडी अन्तिम पटक रोकिएको आयरल्यान्डको बन्दरगाह, नेपालको जस्तै देखिने लिस्बन (पोर्चुगल)को पहाड र मौसम, मेक्सिकोमा हेलिकप्टर बिसाउने होटलमा बसेको र क्यानकुनको भब्य ओजेन ओशो आश्रम, मित्र सुनिल खड्कासँग लन्डनदेखि रोमसम्मको घुमाइ बसाइ, बेल्जियमबाट साथीहरुसँग रातभरि गाडी चलाएर बिहान लक्जम्बर्ग पुगेको क्षणहरु मानसपटलमा आइरहन्छन् । पेरिसमा झन्डै पाकेट मारिएको, दोश्रोपटक स्वीटजरल्याण्ड पुग्दा पर्स हराएको रेल चढ्ने क्रममा सानो गल्तीको कारण जरिवाना तिर्न परेकोले हंगेरीको राजधानी बुडापेस्टको भोगाइ नमीठो रह्यो । दुई छोरीहरुसँग हाम्रो भोक नमेटिएको भेनिसको यात्रा अनि ससुरा बा र ज्वाईसहित सपरिवारको लिस्बन यात्रा निकै रमाइलो भयो। ३३ सौँ वर्षगाँठ मनाउन यही फेब्रुवरी २० देखि २५ सम्मको एण्डोरा र बार्सेलोनाको भ्रमण झन् अविश्मरणीय बन्यो।
तेह्र महिनामा तीनपटक डेनमार्क पुगेछु । एउटै कामको लागि दुईपटक त्यही ठाउँमा पुग्नु परेको थियो । कोपन्हेगनको यात्रामा अन्य कुनै देशमा नदेखिएको अनुभव सँगाल्न पाएको कारण पनि यो यात्रा संस्मरणको विषय बनाएको छु ।
गैरआवासीय नेपाली संघको आठौँ युरोपियन क्षेत्रीय बैठक २१ जुन २०१५ मा डेनमार्कमा तय गरिएको थियो । विनाशकारी भूकम्पका कारण उक्त बैठक हुने वा नहुने भन्दा भन्दै अन्तिममा स्थगित गरिएको थियो । प्रत्यक्ष बैठक बस्न नसकिएको कारण अनलाइन बैठक बस्ने निर्णय भयो । केहीदिन अगाडी मात्रै हवाई टिकेट लिएको त्यसलाई फेर्न तथा पैसा फिर्ता लिन नमिल्ने, अब फेरि आइएला नआइएला भनेर एकपटक पुग्ने नै निर्णयमा पुगेँ । त्यो बैठक प्रत्यक्ष रुपमा भएको भए अझ बढी सान्दर्भिक र प्रभावकारी हुन्थ्यो भन्ने मेरो ठहर थियो ।
सन् २०१५ जुन २० बिहान ब्रिटिश एयरको जहाजबाट डेनमार्कको राजधानी कोपेनहेगनको उडान भरियो । एयरपोर्टमा निस्कने बित्तिकै “संसारकै खुशीमान्छेहरुको देशमा स्वागत छ” भन्ने लेखिएको देख्दा किन त्यस्तो लेखिएको होला भन्ने कौतुहलता लाग्नु स्वाभाविक थियो । यसपालि अलि फरक अनुभव लिनको लागि कुनै ठूलो होटल वा साथीहरुकोमा बसिएन । शहर नजिकैको एउटा होस्टल दुई रातको लागि बुकिङ्ग गरे । आफूले नचिनेका मानिसहरुसँग मिलेर कोठामा बस्न पर्ने । म बस्ने कोठामा अरु तीनजना थिए । एकजना सिंगापुरका रहेछन् अरु दुईजना केटा र केटी कतिखेर आएर सुते थाहा नै भएन । म उठेर निस्कँदा उनीहरु निदाइरहेका थिए । रमाइलो नै अनुभव भयो ।
म त्यहाँ आउने कुरा तत्कालिन युरोप सहसंयोजक सोम सापकोटाजीलाई मात्रै जानकारी थियो । खै किन हो मैले आफ्नो फोन लिएर गएको थिइनँ । अन्य उपायबाट सम्पर्क गर्न सकिन्छ नै भन्ने सोचेको थिएँ । तर नयाँ सिम र फोन नै किन्न पर्ने अवस्था आयो । सोमजीले लोकराज शर्मासँग सम्पर्क गराइदिनु भयो । भोलिपल्ट बिहान लोकराजजीसँग सोमजीको घरमा गयौँ र त्यहीँ नै बसेर अनलाइन बैठकमा सहभागी भयौँ । लामो समयदेखि संगै राजनीतिमा संलग्न मित्र उदयराज गौतम डेनमार्क बस्नुहुन्छ भन्ने थाहा थियो तर समय मिलाउन सकिन्न कि भनि मैले जानकारी गराएको थिइनँ । अनलाइन बैठक पछि हामी उदयजीलाई भेट्न गयौँ । त्यसपछि नेपालीद्वारा संचालित नमस्ते नेपाल रेस्टुरेन्टमा तत्कालिन एनआरएन डेनमार्क अध्यक्ष दिपक सापकोटा, प्रवक्ता कुलराज शर्मासहित केही साथीहरुसँग भेटघाट भयो ।
लोकराज शर्मा र कुलराज शर्मा मिलेर आफ्नै ब्यवसाय चलाउनु भएको रहेछ । युवा जोश जाँगरका साथ डेनमार्कमा मेहेनत गर्दै गर्दा सिकेका ज्ञान सीप नेपालमा पनि लानुपर्छ भनेर नै अभियानमा सक्रिय भएको पाएँ । वहाँहरुको अफिसमा पुग्दा धेरै योजनाहरु बारे छलफल भयो । त्यसबेलामा नेपालले ब्यहोर्न परेको लोडसेडिङ्गको समस्या हल गर्न संसारमै ख्यातिप्राप्त सोलार कम्पनीहरु, वातावरणमैत्री काठका घरहरु बनाउने नयाँ प्रविधिको निर्माता कम्पनीसँग कुरा भैरहेको जानकारी भयो । नेपालमा कोही कसैले लगानी गरेमा यी कामहरु तुरुन्तै हुनसक्ने देखियो । यसबारे इच्छुक हुनसक्ने अजयराज सुमार्गीलाई मैले त्यहीँबाट फोन सम्पर्क गरेँ । आजै लण्डन आउँदै छु बसेर कुरा गरौँला भन्ने जवाफ आयो । मेरो पनि त्यही रात लन्डन आउने टिकट थियो । लण्डनमा अजय सुमार्गीसँग डेनमार्कसँग हुनसक्ने ब्यवसाय बारे छलफल भएपछि एकपटक त्यहीँ नै जाने सल्लाह भयो । म भर्खरै फर्केको फेरि के जानेर भनेको हैन जानै पर्छ भन्ने भयो । त्यतिबेला यहाँ सुमार्गीजीको छोराको लागि एउटा गाडी किन्ने कुरा भएको रहेछ । डेनमार्क जाने भनेपछि हतारहतारमा जुन २६ कै दिन गाडी किनेर मलाई सामानसहित आउनु भन्नुभयो । दिउँसो चार बजेतिर हामी लन्डनबाट निस्क्यौँ । छ दिनको यो अवधिमा पूरै गाडी चलाउने साथी श्याम थापा हुनुहुन्थ्यो । बाटोमा बस्नको लागि धेरैवटा होटलमा कोशिश भयो तर त्यतिबेला विशेष मेला भएको हुँदा कतै पनि कोठा पाइएन । राति निकै ठूलो पानी पर्यो । बिहानको करिब दुईबजेतिर गाडीको वाइपर बिग्रेकोले चलाउन मिलेन । गाडी बनाउने गाडीले ग्यारेजसम्म तानेर लग्यो तर आठ नबजेसम्म नखुल्ने भएकोले त्यतिकै कुर्न पर्यो । दिउँसो १२ बजेतिर जीवा लामिछाने र कुमार पन्तले केही समय अगाडी संचालनमा ल्याएको फ्र्यांकफर्टको स्काईलाइन होटलमा पुगेर आराम गर्यौं । बेलुकीतिर वहाँहरुले स्थानीय निकायसँग निवेदन दिएर प्राप्त गर्न सकिने करेसाबारीमा बसेर वहाँहरुको परिवारसहित खानपिन भयो । राति त्यहीँ होटेलमा भवन भट्टलगायत धेरै साथीहरु आइपुगे । राति अबेलासम्म विविध विषयमा छलफलसहित फेरि खानपिन भयो । २८ जुनका दिन बिहान १० बजे हिँडेको बेलुकी ८:३० बजेतिर कोपेनहेगन पुगियो ।
भोलिपल्ट दिनभर भेटघाट भयो । डेनमार्ककै एउटा ठूलो सोलार कम्पनिसँग ब्यवसाय गर्ने सहमति पनि भयो । तर लोडसेडिङ्ग अन्त्य भैसकेपछि जुनरुपमा सोलार ब्यवसाय संचालन गर्नेकुरा थियो त्यो अगाडी बढ्न सकेन । काठको घर बनाउने प्रविधि पनि गज्जबकै रहेछ । इन्जिनियरले कम्युटरमा डिजाइन गरेपछि त्यही सेटिंगअनुसार प्रिन्ट भए जस्तो प्लाईउड काटिएर विभिन्न टुक्राहरु निस्कने र ती सबै टुक्राहरू जोडिएपछि राम्रो घर बन्नेरहेछ । त्यो फ्याक्ट्री हेरेपछि एउटा जंगलको बीचमा बनाइएको सुन्दर घर देखाउन लगिएको थियो । कति राम्रो त्यहीँ बसिरहूँ जस्तो त्यो घरको वातावरण । वातावरण मैत्री डेनमार्कमा यस प्रकारका घरहरुको बस्ती मात्रै हैन ठूल्ठूला अफिस, सपिङ्ग सेण्टरहरु नै बन्न थालेका रहेछन् । लोकराजजीले अन्य कामहरुसहित काठको मात्रै घर बनाउने कम्पनी नेपालमा स्थापित गराई सक्नुभएको छ । यो सबै प्रविधिका निर्माता आफैँ नेपालमा गएर सबै व्यवस्था भएको छ । लोकराजजी आफैँ पनि नेपालमा बसेर नयाँ नयाँ कामहरु गरिरहनु भएको छ ।
करिब एक वर्षपछि २०१६ जुलाई ३० बाट नवौँ क्षेत्रीय सम्मेलन पनि कोपेनहेगनमै भयो । त्यो भेलामा आउँदो केन्द्रीय नेतृत्व कस्तो हुने बारे पनि छलफलको विषय बनेको थियो ।
संसदीय प्रजातन्त्र,संवैधानिक राजतन्त्र भएको समाजवादीजस्तो देखिने तर पुँजीवादी भन्न मन पराउने देश डेनमार्क । संसारको कम भ्रष्टाचार हुने बलियो स्थिर अर्थतन्त्र भएको डेनमार्क कृषि, उद्योग,फलाम, वैकल्पिक ऊर्जामा सर्वोकृष्ट छ । भारतको वाराणासी राज्यभन्दा सानो देशमा करिब ५८ लाख मानिसहरू बसोबास गर्दछन् । राजधानी कोपेनहेगनमा करिब १२ लाख मानिसहरू बसोबास गर्दछन् । कमाईको करिब ५० प्रतिशत (आम्दानी अनुसार) कर तिर्न मन नदुखाउने डेनिसहरु सरकारले दिने सामाजिक सुरक्षाअन्तर्गत निःशुल्क स्वास्थ्य, शिक्षा प्रशस्त काम र कमाईको कारण संसारकै खुशी देश हुन सफल भएको छ । काम गर्नेभन्दा छुट्टी बढी हुने देश जहाँ हप्ताको ३७ घण्टा भन्दा बढी काम गर्नु पर्दैन । न्यूनतम ज्याला नतोकिए पनि राम्रो तलब पाउने हुँदा डेनिसहरुको जीवनशैली अन्य देशहरूको भन्दा स्तरीय मानिन्छ ।
युरोपमै डेनिस राजतन्त्रलाई सबैभन्दा पुरानो मानिन्छ । भाइकिङ राजाहरूले राज गरेको डेनमार्क दशौं शताब्दीका राजा हेराल्ड ब्ल्यूटुथले सन् ९६५ बाट क्रिष्टियन राष्ट्र घोषणा गरेका थिए । केही समय स्वीडेन, नर्वे र डेनमार्क एउटै राजाबाट शासित हुनपुग्यो । सन् १८४९ देखि भने संवैधानिक राजतन्त्र भयो। राजा फ्रेडरिक नवौँको मृत्यु सन् १९७२ मा भएपछि उनकी छोरी मार्गरेट द्वीतीया हालसम्म महारानी छिन् । उनको श्रीमान् हेनरी डे लाबोर्डले आफूलाई शायद राजाको पदवी नपाएकोले त्यहाँको परम्पराअनुसार श्रीमतीसँग लास नराखियोस् भन्ने अन्तिम ईच्छा व्यक्त गरेका थिए । रानीको श्रीमान्लाई राजा नभनी युवराज भनिएकोमा उनलाई चित्त नबुझेको हुनुपर्छ । सन् २०१८ मा उनको मृत्यु भयो । डेनमार्कको संसदीय राजनीति अलि फरक खालको देखिन्छ । हालसम्म बहुमत प्राप्त पार्टीले शासन चलाएको निकै कम उदारहण पाइन्छ । प्रायजसो दुई दल मिलेर मात्रै सरकार बन्ने गरेको छ । सोसियल डेमोक्र्याटका नेतृ ४२ वर्षीय मेट फ्रेडरिकस्न सन् २०१९ जुनदेखि प्रधानमन्त्री निर्वाचित भएकी छिन् ।
डेनमार्कमा अन्य दुई स्वतन्त्र राज्यहरू ग्रीनल्याण्ड र फारो आइल्याण्ड छन् । यी दुई राज्यबाहेक प्रशासनिक रूपमा डेनमार्कलाई सन् २००७ देखि पाँच क्षेत्रमा बाँडिएको छ । १९७० देखि २००६ सम्म १५ त्यस अगाडी १७९३ देखि १९७९ सम्म २४ काउन्टीहरु थिए।
कोपेनहेगन जाँदा तीनै पटक शहरको बिचमा रहेको फ्रीटाउन क्रिष्टिनया पुगियो । त्यहाँभित्रको वातावरण हेर्दा लाग्थ्यो त्यो कुनै नयाँ संसार हो । त्यहाको मूलढोकामा नै यस्तो लेखिएको छ “यु आर नाउ लिभिङ द युरोपियन युनियन” । सन् १९७१ मा युवा हिप्पीहरुले मिलिटरीहरुले प्रयोग गरेर छाडेको ब्यारेकलाई कब्जामा लिई त्यहाँ बसोबास गर्न थाले । ठूलो समाजमा बस्न दिक्क लागेर, सरकारी नियम कानुन मान्न मन नलागेर आफ्नै छुट्टै बस्ती बनाउन पुगेका थिए । शहरमा घरबास नहुनेहरूको बासस्थान बन्दै गयो । बिस्तारै थप मानिसहरु आउन थाले । त्यहाँभित्र आफ्नै प्रकारका कानुन प्रथाहरु चलाउन थालियो । मानिस सबै समान हौँ सबैले सबैलाई समान ढंगले ब्यबहार गर्नपर्छ भन्ने उनीहरुको मान्यता छ । त्यहाँभित्र अरुलाई हानी पुग्दैन भने कुनै पनि क्रियाकलाप गर्न छुट छ भनिन्छ । करिब ७.७ हेक्टर क्षेत्रफलमा रहेको यो बस्तीमा झन्डै १००० मानिसहरु बसोबास गर्छन । त्यहाँभित्र उनीहरु आफ्नो छुट्टै झण्डा प्रयोग गर्छन् । रातो चतुर्भुज आकारको बीचमा तीनवटा पहेँलो ठूला विन्दुहरू छन् क्रिष्टिनियाँको तीनवटा आइको माथिको थोप्लालाई थ्री आइजको संज्ञा दिएको बुझिन्छ । त्यहाँभित्र आफू बस्न आवश्यक घर बनाउन सकिन्छ तर किनबेच भने हुँदैन । जेजति बनेको छ त्यो सबै छाडेर जानुपर्ने हुन्छ । स्वाबलम्बी बन्नको लागि सबैले केही न केही उत्पादनमा संग्लग्न भएको हुन्छ । रेस्टुरेन्ट, पसल, पबहरु प्रशस्त मात्रामा छन् । यो एक पर्यटकीय क्षेत्र भएकोले त्यहीँ नै उत्पादन भएका र अन्य सामानहरुको पनि बिक्री हुने गर्दछ । गजबको व्यवस्था के छ भने पल्सर स्ट्रीट भनेर एउटा फोटो खिच्न नपाउने द ग्रीन ल्याण्ड डिष्ट्रिक्ट भनिएको छ । त्यहाँ भिन्न किसिमका गाँजा चरेशहरु पाइन्छन् । कानुनी रुपमा बन्देज भएपनि त्यहाँ खुल्लम खुल्ला सेवन गरेको देखिन्छ । केही नेपालीहरु पनि यहाँ बसोबास गरेको हुनसक्ने संकेत त्यहाँ नेपाली झण्डा पनि देखिएबाट हुन्छ । कसैले फोटो खिच्न नपाउने नियम उल्लंघन गर्यो भने क्यामेरा वा फोन माया मार्न पर्ने पनि हुनसक्छ । खुला समाजको रुपमा संसारमै परिचित डेनमार्कले समलिंगी विवाहलाई सन् १९८९ मा कानुन बनाएर पहिलो राष्ट्र बनेको थियो । तर क्रिस्तियानियामा भने शुरुदेखि नै समलिंगी सम्बन्धी विविध जानकारीसहित गे हाउस स्थापना गरिएको थियो । क्रिश्तानिनियामा गाडीभित्र लान पाइँदैन। यहाँ विश्वका ख्यातिप्राप्त कलाकारहरुद्वारा बेलाबखत ठूल्ठूला कन्सर्टहरु पनि हुने गर्छन् । भित्र प्रवेश गरेपछि यो स्वतन्त्र भूमिमा कुनै हतारो नगरी बिस्तारै सबै हेर्नु पिर चिन्ता नलिनु भनेर यस्तो सूचना नै टाँसेको छ ‘रनिङ कजेज प्यानिक’ । वार्षिक करिब पाँचलाख भन्दा बढी पर्यटकहरु त्यहाँ जाने गरेको बुझिन्छ । डेनमार्कको राजधानी कोपेनहेगनको मुख्य केन्द्रमा नै अर्को छुट्टै देश घुमेको जस्तो भान हुने यो ठाउँभित्र पस्दा अनि बाहिरिँदा अत्यन्तै भिन्न अनुभूति हुन्छ।
द लिटर मेरमेइड यहाँको उत्कृष्ट पर्यटकीय क्षेत्र भनेर लोकजीले त्यहाँसम्म लिएरै जानु भयो । शहरबाट करिब आधा घण्टा हिँडेरै पुगिने ठाउँ रहेछ । ठूलो नहरको तीरमा ढुँगामाथि एक निर्वस्त्र जलपरिको तामाको मूर्ति बनेको मूर्ति रहेछ । खुट्टाचाहिँ माछाको पुच्छर आकारको । त्यहाँ हेर्न आउने राम्रै हुल थियो । मलाई भने खै के रहेछ जस्तो लाग्यो ।
अहिले यसबारे खोजी गर्दा यसको महत्व संसारभरि नै रहेछ । फेरि टेलमा विश्व प्रसिद्ध कमाएका लेखक क्रिस्चियन एन्डर्स द्वारा लिखित यो पुस्तकमा वर्णन गरिएको जलपरीबारे ओपेरा हेरेपछि त्यसको प्रतिमा बनाउन सन् १९०९ मा कार्लज्याकोबसेन् (उनैको नाम बाट उनका बुबाले बियर उत्पादन गरेका थिए)ले स्थानीय कालिगढ एलेन प्राइसलाई लगाएका रहेछन् । विविध कारणले पटकपटक यो मूर्तिलाई क्षति पुर्याउने प्रयास भएपनि पुनः मर्मत गरिने गरेको छ । यहाँ प्रतिवर्ष पचास लाखभन्दा बढी मानिसहरु आउँछन् । यस्तै देखिने प्रतिमा अहिले विश्वका धेरै देशहरूमा बनाउन थालिएको छ । हालसालै फेसबुकमा कसैले यो फोटो राख्दा नाङ्गो तस्वीर भनेर रोक लगाएको र पछि लामो प्रयासपछि समस्या समाधान भएको खबर पनि आएको थियो । यिनै लेखकले लेखेका थुप्रै पुस्तकहरूलाई आधार बनाएर हलिउडका चलचित्रहरू बन्ने गरेका छन् । सन् २०१३ मा १५० डलर खर्च गरेर बनाइएको फ्रोजन चलचित्रको बक्स अफिस आम्दानी १.२८० बिलियन डलर भएकोले पनि देखाउँदछ उनका पुस्तकहरुको ख्याति र आकर्षणका सम्बन्धमा ।
शहर नजिकै रहेको टिभोली फन पार्क संसारकै दोश्रो पुरानो मानिन्छ । १५ अगस्त १८४३ देखि शुरू भएको यो पार्क अहिलेसम्म पनि आकर्षक पर्यटकीय स्थल बनेको छ । सन् २०१८ मा ४.८५ मिलियन पर्यटकहरू यहाँ आएका थिए । उत्तरी डेनमार्क क्लाम्पेनवर्गमा अवस्थित अर्को डिरेह्याभस्बाकन पनि सन् १५८३ देखि सञ्चालनमा छ । यो नै संसारको पहिलो फन पार्क हो ।
करिव ४३ हजार किलोमिटर क्षेत्रफलमा फैलिएको यो देशमा ४४४ टापुमध्ये ७६ वटामा मात्र मानव बसोबास गर्दछन् । डेनमार्कको छिमेकी राष्ट्रहरू स्वीडेन र जर्मनी हुन्। जमीनसँग जर्मनी मात्रै जोडिएको छ भने १६ किलोमिटर लामो अरेसन्ड पुलबाट स्वीडेन पुग्न सकिन्छ । नर्थ सी काटेपछि युके भेटिन्छ । स्कागेन भन्ने ठाउँमा बाल्टिक र उत्तरी समुन्द्र (नर्थ सी) मिसिने संसारकै अद्भुत दृश्य देख्न सकिन्छ । डेनमार्कको प्रायः जमीन समथर भएकोले यो ठूला पहाड वा हिमाल बिनाको देश हो। यहाँको अग्लो डाँडा भनेको समुन्द्री सतहबाट १७१ मिटर उचाई मात्रै रहेको छ । यहाँका करिब २० नागरिकहरुले संसारकै उच्च हिमाल सगरमाथाको शिखर टेकिसकेका छन्। समुन्द्रले घेरिएको यो देशको कुनैपनि शहरबाट करिब ५० किलोमिटर पार गर्यो भने समुन्द्री तट भेटिन्छ । केही समय पाउने बित्तिकै यहाँका मानिसहरू समुन्द्रमा पुग्छन् । यहाँका प्रायः सबै मानिसले पौडी खेल्न जानेका हुन्छन् । विद्यालयमा अनिवार्य पौडी सिकाउनु पनि यसको अर्को कारण हो । यहाँको समुन्द्रको कुनै पनि भूभागमा पौडी खेल्न सकिन्छ । यहाँको पानी असाध्यै सफा मानिन्छ । धाराको पानी सबैले सीधै पिउन सक्छन् ।
सन् १९३२ मा ओलेकर्क क्रिश्चियनसेनले उत्पादन गरेको लेगो अहिले संसारभर लेगोल्याण्डको रूपमा एक आकर्षणको केन्द्र बनेको छ। लेग गड भनिएको यस शब्दको मतलब प्ले वेल भन्ने हुन्छ । अहिले संसारकै सबैभन्दा बढी खेलौना लेगोकै बिक्री हुन्छ । यस कम्पनीले प्रत्येक वर्ष आम्दानी र नाफा बढाउँदै गएको छ । यहीँकै एक युवा डाक्टर जापहार्टसनले सन् १९९४ मा संसारलाई सञ्चारक्षेत्रमा निकै ठूलो महत्व राख्ने ब्लुटुथको निर्माण गरेका हुन् । यो नामाकरण दशौं शताब्दीका राजा हेराल्ड ब्ल्यूटुथबाट गरिएको रहेछ । त्यस्तै स्काइपका दुईजना निर्मातामध्ये एक जानुस फ्रिस डेनिस नागरिक हुन् ।
सन् १८४७ मा जेसी ज्याकोबसनले कोपेनहेगनमा बियर उत्पादन गर्न थाले । आफ्नो छोरा कार्लको नाममा नामाकरण गरिएको थियो। हाल संसारका ५०० भन्दा बढी ब्राण्डसँग यसले सहकार्य गर्दछ । सन् १८८३ सम्म बियर अहिलेको जसरी सबैले पिउन सक्दैन थिए । यसमा मिसाइने मर्चाले धेरैलाई बिरामी बनाउँथ्यो । इमिल क्रिश्चियनसन हानसनले कार्लस्बर्गमा काम गर्दागर्दै बियरबाट मर्चाको छोक्रा छुट्याउन सक्ने प्रविधिको विकास गरेपछि बियर सबैले पिउन थालेका हुन् । गरगहनाको क्षेत्रमा उच्च स्थान पाएको पाण्डोरा कम्पनी पनि यहीँकै हो । यो सन् १९८२ मा कोपेन्हेगनमा शुरु भयो र अहिले १०० भन्दा बढी देशमा सातहजार सात सयभन्दा बढी पसलहरुबाट बिक्री हुन्छ ।
खानामा सौखिन डेनिसहरु सपरिवार बसेर लामो समय बातचित गर्दछन् । बंगुरको भुटेको मासु यहाँ धेरै परिकारहरुमा प्रयोग गर्दछन् । संसारभर चिनिने डेनिस प्याष्ट्रीको इतिहास भने अलि फरक रहेछ । सन् १८५० अष्ट्रियाका युवाहरु यहाँ आएर बेकरीको व्यवसाय शुरू गरेका रहेछन् । भियनामा पाउने प्लण्डरब्याकलाई यहाँ पछि डेनिस प्याष्ट्रीको नाममा प्रचार भयो । कोपेनहेगनमा मात्रै २५ वटा मिचिलियन स्टार रेस्टुरेन्टहरु छन् । संसारकै उत्कृष्ट रेस्टुरेन्टमा यहाँको नोमाको नाम धेरैपटक आएको छ ।
डेनिस भाषामा कुनै ‘कृपया’ प्लीज भन्ने शब्द छैन । कसैले कुनै अवसरमा खानाखान बोलायो भने आयोजकले बस नभनेसम्म र शुरू गरौं नभनेसम्म कुर्नपर्ने हुन्छ । चियर्सलाई स्कोल भनिन्छ । स्कोल नभनी पिइयो भने असभ्य मानिन्छ। भाइकिंगहरुको समयदेखि त्यसरी भाँडोमा वा सिंगमा पिउँदै गर्दा स्कोल भनिने गरिन्थ्यो । त्यसको थेगो संस्कारका रुपमा यद्यपि चलिरहेको छ । त्यसमा पनि आफ्नै खालको विरासत देख्न सकिन्छ ।
प्लास्टिकको झोला प्रयोगमा पूर्ण रोक लगाउने केही देशहरुमध्ये डेनमार्क पनि एक हो । स्वच्छ मौसम भएर होला यहाँ प्रत्येक अर्को दिनमा पानी पर्छ भनिन्छ । वर्षमा करिब १८४ दिन पानी पर्ने गर्दछ । छिनछिन मै पानी परेको हुने तर मसँग छाता नभएकोले दिनभरिमा चार, पाँच वटा रेस्टुरेन्टमा छिरेको मेरो पनि अनुभव रहेको छ । तर अचम्म के देखियो भने पानी परे पनि जताततै साईकल चलाउनेहरु दौडिरहेकै हुन्थे ।
जनसंख्या वृद्धिमा कमी आउनु यो देशको लागि ठूलै समस्या देखिएको छ । छोराछोरी नबनाउने प्रचलन बढेको कारण बूढाबूढीहरु नातिनातिना नभएकोमा चिन्तित देखिन्छन् । बच्चा हुँदा बाबु वा आमा वर्ष दिनसम्म काममा जान पर्दैन सरकारले पूरा तलब दिन्छ । विद्यालय मात्रै हैन कलेजको पनि फिस त तिर्न परेन नै बसोबाससहित थप खर्च ९०० यूरो प्रति महिना प्रति विद्यार्थीलाई दिने चलन छ । सरकारले नै जोडाजोडीलाई प्रजननमा हौसला थप्न विभिन्न होलिडे प्याकेजहरू सित्तैमा दिने गरेको पाइन्छ । राष्ट्रियरूपमा नै यसलाई डू इट फर डेनमार्क भनेर प्रचार गरिएको छ ।
यहाँका मानिसहरु बढी मासु खाने गर्दछन् । सबैभन्दा बढी बंगुरको मासु खपत हुने गर्दछ । राजधानी कोपेनहेगनमा मानिस भन्दा झण्डै दुगुना बंगुर पालिएको छ । शहरमा सबैले काम जान आउन साइकल प्रयोग गर्ने गर्दछन् । मन्त्रीहरु पनि यातायातको लागि सार्वजनिक सेवा प्रयोग गर्दछन् । कारभन्दा दोब्बर साइकलको संख्या छ । सन् २०२५ सम्ममा प्रदूषण मुक्त देश घोषणा गरिएको छ । डेनमार्कको झण्डा सबैभन्दा पुरानो मानिन्छ । सन् १२१९ बाट प्रचलनमा ल्याइएको यो झण्डा अहिलेसम्म कुनै परिवर्तन गरिएको छैन । गजबको कानुन के रहेछ भने यहाँ अरु देशको झण्डा जलायो भने अपराध मानिन्छ र तीनवर्ष जेल सजायँ हुन्छ तर डेनिस झण्डा जलाउन कुनै रोक लगाइएको छैन ।
नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध सन् १९६७ डिसेम्बर १५ बाट जोडिएको हो । अप्रिल १९९२ देखि काठमाण्डौमा डेनमार्कबाट उपनियोग प्रमुखको नेतृत्वमा आवासीय प्रतिनिधि बसोबास गर्न थालियो । पछि राजदूतको व्यवस्था गरिएको थियो । नेपालले पनि सन् २००७ देखि कोपनहेगनमा दूतावास स्थापना गरेको हो । सन् २०१७ देखि भने डेनमार्कको दिल्लीस्थित दूतावासबाट नेपालमा कन्सुलरमार्फत कुटनैतिक सम्बन्ध अगाडी बढाइरहेको छ । नेपाल र डेनमार्क बीच व्यापारिक सम्बन्ध पनि रहेको छ । नेपालबाट कफी, चिया, मसला, साबुन, रम, धूप, तेल, तयारीपोशाक, पस्मिना, उनी सामानहरु निर्यात हुने गर्दछन् ।
सन् १९९० देखि केही नेपालीहरु डेनमार्कमा स्थायी बसोबास गर्न थालेको देखिन्छ । पर्यटन व्यवसायमा लागेका केही नेपालीहरुले यहाँको डेनिस महिलाहरुसंग वैवाहिक सम्बन्ध जोडेर यतै बस्न थालेको, केही पर्यटकको रूपमा आएको र पछि धेरैजसो उच्च शिक्षा हासिल गर्न आएको देखिन्छ । सन् २००४ पछि यो क्रम अलि बढेको हो । हाल करिब चार हजारको हाराहारीमा नेपालीहरु डेनमार्कमा बसोबास गरेको अनुमान गरिन्छ । ५० भन्दा बढी विद्यावारिधि हासिल गरेका नेपालीहरु विभिन्न ठूलो ओहोदामा कार्यरत छन् । उल्लेख्य संख्यामा आईटी व्यवसायमा पनि संलग्न छन् । रेस्टुरेन्टलगायत अन्य व्यवसाय गर्ने क्रम पनि बढेको देखिन्छ । सामान्य त होटल, रेस्टुरेन्ट, केयरहोममा काम गर्नेहरुको संख्या पनि धेरै नै छ । प्रायजसो सपरिवार बसोबास गर्नेहरु धेरै पाइन्छ । गैर आवासीय नेपाली संघ लगायत दर्जनौं अन्य संस्थाहरु मार्फत नेपाल र नेपालीहरुको लागि सरसहयोग गर्ने गरिएको छ । नेपाली भाषा स्कूलका साथै लाइब्रेरी प्रत्येक शनिबार बिहान ९ बजे देखि १४ बजे सञ्चालनमा रहेको तथा अन्य गतिविधिहरु डेनमार्क डबली डटकम मार्फत सर्वसाधारण जानकारी गराउने जनाएको गरेको देखिन्छ ।
डेनमार्क नेपालभन्दा भूभागको हिसाबले ३.४ र जनसंख्याको हिसाबले झन्डै ५ गुणा सानो छ । जनसंख्याको आधारमा संसारको तालिकामा डेनमार्क ११५ र नेपाल ४९ स्थानमा पर्दछ त्यस्तै भूभागको आधारमा नेपाल ९३ र डेनमार्क १३०औँ स्थानमा पर्दछ । अर्कोतर्फ डेनमार्कको सरदर प्रतिव्यक्ति आय करिब साठी हजार डलर, नेपालको १ हजार ४८ डलर, नेपालीको सरदर आयु ७१ वर्ष छ भने डेनिसको ८१ वर्ष, इन्टरनेट पहुँच नेपालमा १९.७५ र डेनमार्कमा ९७.०५ छ ।
भौगोलिकरुपमा अन्य ठूला देशहरुका तुलनामा डेनमार्कले गौरवशाली इतिहास बोकेको र त्यही लिकमा अहिले पनि हिँडिरहेकोमा डेनिसहरु निकै खुशी देखिन्छन् । देश समृद्ध हुन ठूलो र धेरै जनसंख्या हुने पर्छ भन्ने रहेनछ। राजनीतिक प्रणाली मात्रै सबैथोक नहुने रहेछ। हरेक देशका प्रतिनिधि विशेषताहरु हुन्छन् । डेनमार्कका पनि ती प्रतिनिधि गुणहरुको साक्षी बनेर यात्रा गर्ने अवसर पाएकोमा दंग छु । निकट भविष्यमा पनि फेरि फेरि यात्रा गर्नेछु र ती पहिले घुमेका र नयाँ स्थानहरुका बारेमा जानकारी लिइ छुटेका स्थानको पनि भ्रमण गर्ने सोच रहेको छ ।
बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।