एनआरएनए यूकेको एकता अधिवेशन : निर्वाचन तालिका सार्वजनिक

लन्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) यूकेको यही मार्च २३ मा हुने एकता अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले अल्डरसटस्थित एक रेस्टुरेन्टमा आइतबार २ मार्च २०२५ मा पत्रकार सम्मेलन गरी अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार सदस्य बन्ने अन्तिम समयसीमा १५ मार्च मध्यरातसम्म तोकिएको छ । मतदाता नामावली प्रकाशन १६ मार्च अपराह्न ५ बजे हुनेछ भने सदस्यतामाथि दावी/विरोधका लागि १७ मार्च ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

त्यस्तै, उम्मेदवारी दर्ता १९ मार्च ५ बजेसम्म तथा उम्मेदवारीउपर दावी/विरोधको समयसीमा २० मार्च दिउँसो एक बजेसम्म राखिएको छ । उम्मेदवारी फिर्ताका लागि २० मार्च दिउँसो ३ बजेसम्म र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन २० मार्च साँझ ७ बजेको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

२१ मार्च दिउँसो उम्मेदवारहरुका प्रतिबद्धता सार्वजनिक गरिने र २३ मार्चका दिन निर्वाचन, नतिजा घोषणा र शपथ हुने समितिले जनाएको छ ।

अधिवेशनले ३६ सदस्यीय एनआरएनए एनसीसी गठन गर्नेछ । अध्यक्ष र आईसीसी पदको उम्मेदवारी दिन १ हजार पाउण्ड, उपाध्यक्ष र महासचिव उम्मेदवारका लागि ५०० पाउण्ड, सचिव, महिला सचिव र कोषाध्यक्ष पदका लागि ३०० पाउण्ड, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक उम्मेदवारले २०० पाउण्ड एवं १८ सदस्यहरुले उम्मेदवारी शुल्क १०० पाउण्ड निर्धारण गरिएको छ । भौतिक रुपमा उपस्थित भएर उम्मेदवारी र मतदान दिनुपर्ने समितिले जनाएको छ ।

निर्वाचन समितिको संयोजकमा डा. भिम पुन,सदस्यसचिव विश्वासदीप तिगेला, सदस्यहरुमा राजकुमार त्रिपाठी र टेकबहादुर थापा हुनुहुन्छ ।

आइतबार नै सोही हलमा ५ सय २७ सदस्यीय मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेको थियो । अध्यक्ष योगेन क्षेत्री र सचिव राजकुमार त्रिपाठी रहनुभएको छ ।

उक्त अवसरमा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, तमुधीं यूके पूर्वअध्यक्ष ज्ञाम गुरुङ, पूर्वडीएसपी वाचस्पति रेग्मी, पूर्वकाउन्सिलर प्रवेश केसी, एनआरएनए यूके गोर्खा टास्क फोर्सका प्रमुख संयोजक ओमप्रसाद थापा काउछा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

यस्तै एनआरएनए उपाध्यक्ष थर्क सेनले सदस्यता लिएर बेलायत र नेपालमा हुने अधिवेशनमा सहभागी हुन अपिल गर्नुभयो । उहाँले एनआरएनए यूके अधिवेशनमा डा. शेष घले आउने जनाउँदै अधिवेशनको सामूहिक जिम्मेवारी पूरा गर्न सबैमा आग्रह गर्नुभयो ।

त्यस्तैगरी एनआरएनए यूके संरक्षकहरु भरत रोका क्षेत्री र वीरबहादुर थापा, एनआरएनए यूके आईसीसी सदस्य शारदा गुरुङ, क्याप्टेन रि. हितमान गुरुङ, नरमती पुन, बडी बिल्डिङ यूके अध्यक्ष गंगा गुरुङ लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख संरक्षक डेभिड गुरुङले एकता अधिवेशनको गहन जिम्मेवारी लिएको भन्दै मूल आयोजक समिति संयोजक योगेन क्षेत्री, आरके त्रिपाठी लगायतलाई फेटा ओढाएर सम्मान गर्दै एकताको अधिवेश सफल बनाउन सबैजना लाग्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री