अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार आपूर्ति रोकेपछि प्रतिरोध जारी राख्ने युक्रेनको प्रतिबद्धता

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई महत्त्वपूर्ण अमेरिकी सैन्य समर्थन रोक्ने निर्णय गरेपछि युक्रेनले मङ्गलबार रुसी आक्रमणको सामना गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपतिले ओभल कार्यालयमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग एक अविस्मरणीय सार्वजनिक झगडा भएको केही दिनपछि किएभलाई सैन्य सहायता स्थगित गर्नुभएको छ । “हामी प्रतिरोध जारी राख्न सबै कुरा गर्नेछौँ”, प्रधानमन्त्री डेनिस स्मिगालले किएभमा पत्रकार सम्मेलनमा भन्नुभयो ।

सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेयता वासिङ्टन युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सैन्य समर्थक रहँदै आएको छ । प्रधानमन्त्री स्मिगालले अमेरिकी सहायता वायु रक्षा र खुफिया आदान–प्रदानका रूपमा ‘हजारौँ, सम्भवतः दशौँ हजार युक्रेनीको जीवन बचाउने’ भएको बताउनुभयो । युक्रेनले युरोपसँग खाली ठाउँ भर्न वार्ता गरिरहेको र हतियार रोक्ने विषयमा ट्रम्पसँग वार्ता गर्न चाहेको बताएको छ ।

यसमा संयुक्त राज्य अमेरिकालाई युक्रेनको खनिज र प्राकृतिक स्रोतहरूमा प्राथमिक पहुँच दिन रद्द गरिएको सम्झौतामा हस्ताक्षर गर्नु समावेश रहेको उहाँले बताउनुभयो । सहायता रोकावटमा अहिलेसम्म सार्वजनिक टिप्पणी नगर्नुभएका जेलेन्स्की उक्त सम्झौतामा हस्ताक्षर गर्न वासिङ्टन जानुभएको थियो तर त्यो ट्रम्प र उपराष्ट्रपति जेडी भान्सँगको द्वन्द्वपछि रद्द गरियो ।

अमेरिकी समर्थनको महत्त्वलाई जोड दिँदै स्मिगालले मङ्गलबार वासिङ्टनबाट सुरक्षा ग्यारेन्टी युक्रेन र युरोप दुवैका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । स्मिगालले सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एउटा प्याट्रियट एयर डिफेन्स सिस्टम र गोलाबारुदको आपूर्ति हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री