काठमाडौँ । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ । बिहीबार अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।” बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताउनुभयो । “जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ”, उहाँले भन्नुभयो ।