युक्रेनलाई समर्थन गर्न इच्छुक २० राष्ट्रसँग वार्ता गरेको बेलायतको भनाइ

लन्डन । बेलायती अधिकारीहरूले युद्धविरामको समयमा युक्रेनलाई समर्थन गर्न ‘इच्छुकहरूको गठबन्धन’ को हिस्सा बन्न इच्छुक करिब २० देशसँग वार्ता गरेको बेलायतका एक अधिकारीले बिहीबार बताएका छन् ।

अधिकारीका अनुसार उक्त बैठकमा ‘मुख्यतः युरोपेली र राष्ट्रमण्डल साझेदारहरू’ सहभागी भएका थिए र बुधबार भएको थियो । तर उनले कुन देशहरू सहभागी भए भन्ने निर्दिष्ट गर्न अस्वीकार गरे । देशहरूले कसरी योगदान दिन सक्छन् भन्नेबारे छलफल अझै ‘प्रारम्भिक चरणमा’ रहेको उनले बताए । युद्ध अन्त्य गर्ने प्रयासहरू सम्बन्धी स्थिति ‘धेरै तरल’ रहेको उनले उल्लेख गरे ।

“निश्चित रूपमा हामी यी युरोपेली र राष्ट्रमण्डल साझेदारहरूबाट प्राप्त बढ्दो संलग्नतालाई स्वागत गर्दछौँ”, नाम नछाप्ने शर्तमा ती अधिकारीले भने, “यो सकारात्मक संलग्नता हो, तर यो शुरुआती दिनहरू हुन् ।” बेलायत र फ्रान्सले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न सम्झौता भएको खण्डमा युद्धविराम सुरक्षामा सहयोग गर्न तयार देशहरूको समूह गठन गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् ।

बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकाको समर्थनमा सम्भावित युद्धविराम सुनिश्चित गर्न युक्रेनमा सैनिक तैनाथ गर्न तयार रहेको बताउनुभएको छ । उहाँहरूले यी सैनिकहरूको ठ्याक्कै भूमिकाबारे विस्तृत जानकारी दिनुभएको छैन ।

टर्कीले बिहीबार शान्ति स्थापना प्रयासमा भूमिका निर्वाह गर्नसक्ने सङ्केत दिएको छ भने आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले आयरिस सैनिकहरू शान्ति स्थापनामा संलग्न हुनसक्ने तर कुनै ‘निवारक बल’ मा तैनाथ नगरिने बताउनुभएको छ । देशहरूले लजिस्टिक्स प्रदान गर्नेजस्ता अन्य तरिकाहरूमा योगदान दिन सक्ने विचार गरिएको छ ।

रूसले युक्रेनमा युरोपेली सैनिकहरू स्वीकार नगर्ने कुरामा जोड दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत युरोपको सुरक्षामा संयुक्त राज्य अमेरिकाको दीर्घकालीन प्रतिबद्धता अहिले अनिश्चित भएकाले पश्चिमी देशहरू आफ्नो रक्षा खर्च बढाउन र एकीकृत मोर्चा कायम राख्न हतारिँदै छन् । युरोप र संयुक्त राज्य अमेरिकाबीच पुलको रूपमा काम गर्न प्रयास गरिरहेका स्टार्मरले बिहीबार स्काई न्युजलाई उहाँ ‘अमेरिका, युक्रेन र युरोपेली सहयोगीहरूलाई एउटै पृष्ठमा ल्याउन’ काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री