त्यसपछि म भर्ती भएँ

जीवन / अनुभूति

माघ महिना थियो । झारपात सुकेर गाउँ बिल्कुल उराठलाग्दो देखिन्थ्यो । रूखका पातहरु झरेर खङरङ्गै भएका थिए । तिनै रुखका हाँगाहरुमा हरेक बेलुकी चराचुरुङ्गी बास बसिरहेका हुन्थे । हिँउदको बेला गाउँको दारुण दृश्य देखिन्थ्यो । अझै बरफले छपक्कै गाउँ ढाक्दा र सिरेटोले गति बढाउँदा बिहान बेलुकी बेस्सरी जाडोको अभाष हुन्थ्यो ।  

साँझको समय थियो । पूर्व दिशामा सुस्तरी जून उदाउन थाल्छ । यदि मेरा धमिला स्मृतिहरु सही छन् भने त्यो समय पूर्णिमाको समय हुनुपर्छ । किनभने जुनको प्रकाशले मैले टेकिरहेको धर्ती नै छ्याङ्ग उज्यालो भएको थियो । त्यसरी भुइँभरि छरिएको उज्यालोको फाइदा लिँदै आमाले,“अब तँ र म धान कुट्न जानु पर्छ है,” भन्नु भयो ।    

केही वर्ष अगाडिदेखि हामी सानो गोठमा बस्दै आएका थियौं । गोठमा ढिकी र जाँतोको सुविधा थिएन । त्यसैले धान कुट्नको लागि तल्लो घर झर्नु पर्थ्यो । ढिकी नहुनु पनि स्वाभाविकै थियो । किनभने हामीसँग भकारी थिएन र भकारीमा धान थिएन । थोर बहुत कचल्टिएका भएपनि मेरा स्मृतिका पानाहरु अझैसम्म ताजै छन् । असाध्यै गरिब थियौं हामी र सधैँ पैसाको ज्यादै खाँचो हुन्थ्यो । “अरु केही गरेर सकिएन । अब पैसा कमाउनको लागि चामल ब्यापार गर्छु,” आमाले भावनामा चुर्लुम्मै डुबेर त्यसो भन्नु भएको अहिलेसम्म मेरो मस्तिष्कदेखि उम्केको छैन ।  

साँझ झमक्क परिसकेको थियो तर जूनले राम्ररी प्रकाश दिइरहेको थियो । एकछिनपछि दुई घाम सुकेको धान बोकेर आमा गोरेटो बाटोमा ओरालै ओरालो लाग्नु हुन्छ । म चाहिँ हातमा एउटा खाली नाङ्लो बोकेर आमाको पछिपछि फङ्लङ फङ्लङ हिँडिरहेको थिएँ । हामी त्यसरी हिँडेको एकछिनपछि खरबारी नजिक पुग्छौ । खरबारीको छातीमा वर्षौ अगाडिदेखि एउटा बुढो पैयुँको रुखले हिँउद र वर्षा नभनि जिइरहेको थियो । हुनत त्यति बुढो रुखको गाउँमा खास्सै महत्व त हुँदैनथ्यो । तर आफ्नो काल पर्खेर बसेको तिनै पैयुँको रुखले मलाई ममतामयी आमाको जीवनकथा स्मरण गराइदिन्छ ।

आमाको जीवन सुदूर उत्तरार्ध्दमा पुगेको छ । देहमा झुम्रा कपडाहरु छन् । टाउकामा सेताम्मे फुलेका केशराशी छन् । अनुहारका छाला मुजैमुजा परेका छन् । आधा पेटमा मुसा दगुर्छ र आधामा ग्याँस भरिन्छ । खुट्टामा नङ्ग्राहरु बेस्सरी बढेका छन् । नाङ्गा हात्तीछाप पाइतालाहरु चर्चरी फाटेका छन् । तिनै फाटेका पाइतालाहरुले हरेक साँझबिहान गोरेटोका दर्सिन ढुङ्गाहरु फुटाइ रहन्छन् । लाग्छ – मानसिक दुविधामा जीविका चलिरहेको छ । तर जीवनको उभौली हो कि उधौली हो ? केही अत्तोपत्तो छैन । निसन्देह त्यो पैयुँको रुखझैँ बितिरहेको छ – आमाको जिन्दगी । उफ ! कस्तो कष्टप्रद छ, उहाँको जीवन ।   

यसरी सोच्दै लाँदा मेरा मनभरि बेचैनीका लहरहरु उथलपुथल भइरहेका थिए । नानी मस्तिष्कमा नानाथरिका कुराहरु सोच्छु । तैपनि कदमहरु एकनासले चलाइ रहन्छु । तर घरिघरि मेरो मस्तिष्कले काम गर्न छाड्छ । दुःखीत मुद्रामा जूनले दिएको आमाको शीतल छाँयामा एकछिन उभिन्छु । अनि वाल्ल पर्दै फेरि साँझपखको तिनै जुनलाई हेर्छु । त्यसपछि एक दुईचोटी लामो लामो सास लिन्छु र तत्कालै छाडिदिन्छु । फेरि दूरगामी गति बढाउँछु । घरिघरि उहाँको दुखान्त परिवेशहरु सम्झँदा मेरा मनका चोइटाहरु उछिट्टिएर गोरेटोभरि छरपष्ट पोखिन्छन् – छरिन्छन् ।  

रातको सुनसान समय छ । निक्कैबेर यसरी ओरालै ओरालो हिँडेपछि एक्कासी आमा पछाडि फर्किनु हुन्छ । तर त्यसरी फर्कने बितिक्कै, – “तँ ठीक्कै त छस् नि होइन ? कि के भो र ? केही बोल्दै बोल्दैनस् तँ ?” जूनको टहटह उज्यालोमा एकचोटी मेरो आँखामा आँखा जुधाएर आमा त्यति सोध्नु हुन्छ । अनि सरासर अगाडि बढ्नुहुन्छ ।

उहाँ अगाडि बढेपछि हाम्रा आँखाहरु एक आपसमा दुर हुन्छन् । मलाई त्यसबेला आमा शब्द कति प्यारो होला भन्ने लाग्न थाल्छ । शब्द प्यारो मात्र होइन । उहाँको मन पनि कति प्यारो छ । अझै दिखुवा खोलाको पानी जस्तै कति सङ्लो छ । कति निर्मल छ । कति निश्चल छ । तर उहाँको कुरा सुनेपछि के भनुँ र कसो भनुँ हुन्छु । तैपनि, – “आमा ! खै के भन्नु र ? ठीक हो कि बेठीक । यस्तो जाबो जिन्दगी देखेर त साह्रै धर्मसङ्कटमा पो छु,” प्वाक्क जवाफ फर्काइ हाल्छु ।

तर त्यसरी जवाफ फर्काउने बितिक्कै मलाई पश्चाताप लाग्नु सुरु हुन्छ । किनभने सदाबहार आमाको आँखामा आफ्नो छोरालाई देखाउनु पर्ने माया, प्रेम, स्नेह र उत्साह कहिल्यै कमी छैन । अझै छोराछोरीको प्राण बचाउन मरीमरी धानको भारी बोकिरहेकी आमाको दुब्लो पातलो शरीरको हबिगत देखेर मैले त्यसो नभन्नु पर्ने हो कि भनेर एकछिन दुविधामा पर्छु र आत्मग्लानी गरिहाल्छु ।

गोधूली साँझले बिदाइ गरिसकेको छ । भनिन्छ – मानिसलाई दुःख भएपछि कसैले उकाली चढ्न दिँदैनन्, ओरालीतिर मात्र लखेटिरहन्छ । आमा छोरा पनि ओरालै ओरालै हिँडिरहेको थियौं । कसैले लखेटे जस्तो र हामी भागे जस्तो । एकछिनपछि दुवै हातले नाम्लो समातिरहेको आमाको देहलाई हेर्छु । तर पूरै तिरस्कारले भरिएको मेरो ओठे जवाफ सुनेपछि आमाको मस्तिष्कमा पक्षघात भएको जस्तै लाग्छ । त्यसैले दोश्रोचोटि आमाको मुख खोलिन्न । मेरो त्यो संक्षिप्त जवाफ नै हाम्रो बोलचालको अन्तिम वाक्यांश बन्न पुग्छ । त्यसपछि हामी एक अर्कामा नबोली नबोली एकछिन हिँड्छौं र मालेम्पा दाजुको घरको पेटीमा पुग्छौं ।  

घरको पेटी पेटी एकछिन् सुस्तरी हिँड्छौं । त्यसपछि ढुङ्गे भर्याङमा दुई-तीन अखेटाहरु टेकेर खुत्रुक्क आँगनमा झर्छौ । म मान्छे चोसे मात्र होइन । बानी पनि ठ्याक्कै छुचुन्द्रोको जस्तो छ । किनभने मेरा पयरहरु आँगनमा पर्ने बितिक्कै घरको दलानतिर एक झलक नजर मारि हाल्छु । दलानको छेउमा नीला रङ्गले पोतिएका चारवटा ठूल्ठूला थामहरु रहेका छन । तिनै थामहरु मध्ये बीचको थाममा थपक्कै अडेस मारेर एउटा कुपी एक रफ्तारले बलिरहेको देखिन्छ । झन् कुपीको छेउछाउमै जस्तो भोको पुतलीहरुले खानाको खोजीमा आत्महत्या गर्न खोजिरहेको बिरमाइलो दृश्य देख्न सकिन्छ । तर कुपीले दिएको रिमरिम उज्यालोमा दाजु र अर्को एकजना मान्छे बात मार्दै बसिरहेको म देख्छु ।  

हुनत दाजुको घरमा म आक्कलझुक्कल मात्र जाने गर्थेँ । त्यसैले त्यहाँ आइरहने नयाँ मान्छेहरुलाई खास्सै चिन्दिन थिएँ । गाउँमा दाजुको स्थिति एकदम राम्रो थियो । पशले खेतदेखि ओरालै ओरालो हेर्दा बिजुवा खोलासम्म उहाँको खेतहरु देखिन्थे । आफ्नो नाममा एक टुक्रो जमिन नभएको हामी जस्ता भुसुनाहरुले उहाँको खेतहरु नजर मार्दा चिम्से आँखै बैराग लागिन्जेल थाक्थे । त्यो बाहेक देउजे, भष्मे, डुँडे, छ गह्रे, विरौटा, छाप्ला, दिलुङ्मादेखि दम्कु गाउँसम्मका उहाँका खेतहरुमा हरेक मङ्सिरमा लहलह धान झुल्थे । धान झाँटेपछि ढुकुटी भरिन्थ्यो । ढुकुटीमा नअटेका भकारीमा जान्थे । यस्तो लाग्थ्यो – उहाँ गाउँको सबैभन्दा धनाढ्य व्यक्तिमा पर्नु हुन्थ्यो ।

तर समय समयमा यस्तो देख्दा, ‘धनी मानिसहरुको घरमा पाहुना आउनु र गरिब मानिसहरुको घरमा पाहुना नआउनु’ भनेको सामाजिक नियम भित्रको नियम हो जस्तो लाग्थ्यो । नभन्दै त्यसबेला पनि दाजुको घरमा पाहुना थियो । त्यसैले हामी आमा छोरा उहाँहरुको वार्तालापलाई धुमिल नबनाई सुइँसुइँ हाम्रो गन्तव्य पथमा लम्किरहन्छौं । तर दाजुले एक्कासी हामीलाई देख्ने बितिक्कै, – “तुम्मा ! धान कुट्नु झर्यौ को हो ?” भन्नुहुन्छ । कतिबेला भारी बिसाउनु भनेर हिँडिरहेकी आमाले दाजुतिर नफर्की, “हो ! है, जेठा,” मात्र भन्छिन् र खुरुखुरु अगाडि बढिरहन्छिन् ।

दाजुको घरको आँगन चारैतिर बराबरी दुरी भएकोले चारपाटे रुमाल जस्तै राम्रो देखिन्छ । अँ…..तिनै आगनको ठीक मुन्तिर एउटा पुरानो चित्रे गोठ रहेको छ । गोठको एकातिर ढुङ्गा माटोले बनेको पर्खाल छ । तर अरु तीनतिर चाहिँ केही छैन् – ह्वाङ्गै खाली देखिन्छ । गोठको आँधा भागमा बाख्राहरु बास बस्छन् । अथवा बासको टाटीले बनेका बाख्राखोर छ । बाँकी भागमा एउटा सतुङ्गे ढिकी छ । ढिकी हरेक बिहान बेलुकी व्यस्त भएपनि दिनभरि आराम गरेर बस्छ । जब आमा ढिकीको नजिक पुग्नुहुन्छ तब भुइँमा रहेको ओख्लीमा ह्वार्र धान खन्याइ हाल्नु हुन्छ । ओख्लीमा धान खन्याएपछि बोरा टकटक्याउँदै, – “अब तँ घान लगा है । म कुट्नु थाल्छु,” हुकुम बर्सिहाल्छ । उहाँको कुरो सुनेर म टाउको हल्लाउँदै “हुन्छ, हुन्छ” भन्छु ।    

ढिकी लगभग सात फिट जति लामो छ । अथवा यसो भनौ – एउटा लामो काठलाई दुइटा खाँबाको बीचमा अगालो हालेर अड्याइएको छ । अनि त्यसको निक्कै अगाडि भागमा एउटा मुस्ली राखिएको छ । तिनै मुस्लीमा फलामका दातहरु छन् । त्यस्ले धानको बिया र चामल छुट्याउने काम गर्छ । ढिकीको पछाडिको भाग जोडी खाँबाहरुसँग जोडिएको छ । तिनै ढिकीको पुछारमा पुगेर आमाको खुट्टाले थिचेर उचाल्दै छाड्दै गर्दा म ओख्लीको नजिकै बसेर एकसुरमा घान लगाइ रहेको हुन्छु । तर त्यसरी ढिकी कुटिरहेको बेला दाजुको घरमा आउनु भएको पाहुना हाम्रो सामु अचानक झुल्किनु हुन्छ । र, उहाँ झुल्किने बितिक्कै, –

“दिना ! धान कुट्दै हुनुहुन्छ ?” मसिनो स्वरमा आमालाई सोध्नुहुन्छ ।

आमा आफैँले कुटेको ढिकीको आवाजले पाहुनाले बोलेको कुरो राम्रो बुझ्न सक्नु हुन्न । तैपनि उहाँलाई देख्ने बितिक्कै आमाले ढिकी कुटन बन्द गर्नु हुन्छ । आमाले उहाँलाई देखे पनि राम्रोसँग चिन्न सक्नु हुन्न । त्यसपछि मज्जाले आँखा खोलेर हेर्नु हुन्छ । रात्रीकालिन समय थियो र हामी गोठभित्र थियौं । त्यसैले हल्का अँध्यारो थियो । अझै आमाको बायाँ आँखामा जाली परेको हुनाले त्यति प्रष्ट त देख्न सक्नु हुन्नथ्यो । वास्तवमा भन्ने हो भने आँखाको नानीमा भएको जालीमात्र होइन । बेलाबेलामा उहाँको आँखादेखि आँसु बगिरहने गर्दथ्यो । आँखाको उपचार त सायद हुन्थ्यो होला । तर गाउँमा हामी कङ्गाल थियौं । हामी जस्तो दीनहीन दुःखी मानिसहरुले पैसा खर्च गरेर उपचार गर्ने हैसियत कहाँ हुन्थ्यो र हुँदै हुँदैनथ्यो । त्यसैले अभागी जीवन भनेर आफ्नो कर्मलाई दोष दिइरहेका थियौं ।  

तिनै कमजोर आँखाले नयाँ मानिसलाई राम्ररी ठम्याउनु नसकेपछि, – “छोरा ! एकचोटी कुपी उचाल् त । को आको रहेछ ?” मलाई हुकुम दिनुहुन्छ । जवाफ दिने क्रममा, – “एकछिन् है,” भन्छु र ढिकीको पल्लोपट्टी गएर कुपी उचालेर आमालाई देखाइ दिन्छु ।

“आम्मुइ नी ! जेठा भानिज पो रहेछ त । अना कहिले झरेको भानिज ?” दायाँ हातले ढिकीको खाँबालाई समातेर त्यति भन्नु हुन्छ ।

“आजै झरेको हो । बल्ल बल्ल मावली आउँदा सबै मावलीहरुलाई भेटी जाउँ कि भनेर हो – दिना । साच्ची दिकुलाई के कस्तो छ ?” मेरो नजिक उभिएर त्यति भन्नु हुन्छ ।

“हामी सबैजना ठीकै छौं । तर के गर्नु ? बुढेसकालमा जन्मेका यी नानीहरु स-सानै छन् । कसरी हुर्काउनु हो कुन्नि ? पोहोर परार जोशिलो उमेर थियो । तर आजभोलि बुढेसकाल लागिहाल्यो । अरु सबै सकियो भानिज ! अब कति पो बाँचिन्छ र ? तैपनि अलिकति हड्डी र छाला त छ । अनि खै अरु भनौं कि नभनौं । केवल दुई थोपा आँसुमात्र बाँकी रहेको छ,” भन्न त आमाले त्यति भनिन् । तर त्यति भन्दै गर्दा दुःखी आमाको दिल बिरक्त्तिएर स्वर भासिदै र घट्दै जान्छ ।  

गोठको ठीक मुन्तिर फराकिलो केराघारी छ । त्यति ठूलो केराको बगैंचामा वर्षैभरि केरा फलिरहेको हुन्छ । आमाको कुरो सुनेर उहाँ एकछिन् छक्क पर्नुहुन्छ । चुपचाप उभिएर निःशब्द तिनै केराबारीतिर हेरिरहनु हुन्छ । त्यसपछि, –

“म बुझ्छु । राम्ररी बुझ्छु । दिकुको स्थिति हिजो के थियो र आज के भयो । अँ सुन्नोस् न – गाउँमा तपाइँहरुलाई ज्यादै नै दुःख भयो । कि बेल्टारतिर बसाइँ सर्नु हुन्छ र ? नत्रभने म चाँजोपाँजो मिलाइ दिन्छु । उतै तिर सर्नोस् । सानो तिनो व्यापार व्यवसाय गर्नोस् । नानीहरु पनि उतै पढाउनोस् । आजको जमाना पढालेखाको जमाना हो । नपढेको नानीहरुको केही भविष्य छैन । उतातिर स्कूलको व्यवस्था पनि राम्रो छ । कि आँट गर्नुहुन्छ त ?”

“खै ! त्यतातिर तपाइँ बाहेक अरु चिनेजानेको मान्छे कोही छैन ?”

“अरु किन चाहियो र ? बिना बिच्चैमा । म छँदैछु । ढुक्क भएर सोच्नु होला नि ?

“भानिज ! हुन्छ नि ! म दिकुसँग सल्लाह गर्छु है । हुनत कुकुरले नपाएको दुःख पाउँदा त जाबो यो ठाउँ सधैँ सधैँको लागि छाडेर जान मन छ ।”

“अनि नानीहरु स्कूल जाँदै छन् कि छैनन् – दिना ?”    

“अहँ ! केको जानु, छैन नि । बुढा बुढा भैहाल्यो । म हरेक दिन यी दश काम भ्याउनु पर्छ । तै माथि हामी एक्लो परिवार छौं । हाम्रो आमदानीको श्रोत केही पनि छैन । त्यही बाख्रा त हो । त्यसैले यो बाख्रा गोठाला गर्छ । स्कूल जान के भ्याउँथ्यो र ?”

“दिना ! लु त्यसरी त हुँदैन नि । भोलिदेखि तुरुन्तै स्कूल पठाइ हाल्नोस् । नत्र हजुरहरुलाई जस्तै यो बच्चाहरुलाई पनि पछि दुःख हुन्छ ।” तर त्यति भन्दै गर्दा दाजुलाई खाना खानको लागि बोलाहट भैहाल्छ । खाना खानको लागि जाने भनेको सुन्ने बितिक्कै आमासँग बिदा माग्नु हुन्छ र बाटो तताइ हाल्नु हुन्छ ।  

उहाँ जानु भएपछि म आमालाई, “आमा ! उहाँ को हुनुहुन्छ नि ?” भनेर सोध्छु ।

आमाले प्रति उत्तरमा, “चुप्लाली भान्जा हो,” भन्नु हुन्छ ।

“यहाँ धेरै दुःख पनि भो । उहाँले भने अनुसार बेल्टारतिर पो बसाइँ सर्नु पर्छ कि हो ?” विनम्रतापूर्वक सोध्छु ।

“त्यति सजिलै आफ्नो ठाउँ कसरी छाड्न सकिन्छ र ? बाबुको थाकथलो हो । जन्मथलो हो । कसरी छाड्छस् र ? छाड्न नै सकिँदैन,” मलिन भएर बोल्नु हुन्छ ।

“आमा ! सकिन्छ । किन नसक्नु हौ । मज्जाले सकिन्छ । आफू जन्मेको ठाउँ मात्र भनेर के गर्नु र ? एक छाक खान पाइँदैन, एकसरो लाउन पाइँदैन र फुटेको कौडी काम पाइँदैन भने भावनामा बगेर मात्र कहाँ जिन्दगी चल्छ र ? खान, लाउन र बस्ने स्थान नपाएपछि मान्छे आफ्नो भूमिप्रति ऋणी हुँदैन । कृतज्ञ हुँदैन । धन्य हुँदैन । म त ठूलो भएपछि जुन ठाउँमा पढ्न पाइन्छ, खान पाइन्छ, लगाउन पाइन्छ, काम पाइन्छ र सुविधा पाइन्छ । त्यतैतिर सुँइकिने हो ।”  

मेरो कुरो सुनेर आमा चुपचाप बस्नु हुन्छ । मलाई पछि थाहा भयो । उहाँ मेरो बाबुको कान्छी बैनी अथवा मेरो खुशीमा फुपूको जेठा छोरा हुनु हुने रहेछ । खुशीमा फुपूको बिहे दिखुवा खोला पारी चुप्ला भन्ने गाउँमा भएको थियो । उहाँबाट जम्माजम्मी तीन भाइ छोराहरु जन्मेका थिए । जेठा जयमानसेर राई उहाँ नै हुनुहुन्छ र बेल्टारमा बस्नु हुन्थ्यो रहेछ । माईला ढाकमसेर दिक्त्तेलमा बस्नु हुन्थ्यो । र, कान्छा छोरा लखनसेर चुप्लामा बस्नु हुन्थ्यो पछि गएर काठमाडौँ सर्नु भएको थियो ।   

रात सुस्तरी सुस्तरी छिपिँदै जान्छ । गाउँमा झिलिमिली छैन । रङ्गीचङ्गी छैन । रात्रीकालिन चहलपहल छैन । रमझम छैन । अहँ उत्साह र कौतुहल्ता केही पनि छैन । निक्कै अबेरसम्म ढिकी कुटेर घर फिर्ने बितिक्कै म थपक्कै सुति हाल्छु ।

भोलि बिहान भान्जा दाजुको कुराले थकित र आजित भावमा आमालाई निक्कै पीर परेको कुरो सुनाउन भयो । सबैले खाली खाली स्कूल किन नगाको भन्छ । हिजो भानिजले पनि त्यही भन्यो । भोलिदेखि तँ पनि स्कूल जान थाल् है । छोरी मान्छे अर्काको घरमा जानु पर्छ । त्यसैले बैनीले चाहिँ केही पढ्नु सढ्नु पर्दैन । त्यस्ले घरको काम गर्छ । तँ चाहिँ बिहानभरि स्कूलमा पढ्नु । अनि हाफ छुट्टी हुने बितिक्कै दगुरेर घरमा आइज् । त्यसपछि गोठाला जानु है भन्नु भयो ।

गाउँको अति बिपन्न परिवारमा जन्मिएको लडका थिएँ । अझै भय र विस्मयको भूमरीमा हुर्कदै थिएँ । त्यसैले हृदयभित्र दन्दनी जलिरहेको मनको ताप पोख्ने त्यति सजिलो स्थान कतै भेटेको थिइनँ । चाहे त्यो घाँस काट्न जाँदा होस् कि, दाउरा काट्न जाँदा होस् । पानी भर्न जाँदा होस् कि, मासु लिन जाँदा होस् । जताततै हण्डर खान्थे, ठोकिन्थे । त्यसपछि एक्लै बरबराउँथे । रुन्थे – कराउँथे । त्यो सबै दरिद्रताको कारणले थियो । त्यसैले त्यसबेला पनि आमाको कुरा सुनेर म त के नै पो भन्न सक्थे र । हुन्छ, हुन्छ त भन्थे । त्यसैले हुन्छ नै भनें ।

अर्को बिहान झिस्मिसेमा नै उठेको थिएँ । छिटोछिटो दम्कु खोलामा गएर बनमारा, तितेपाती र पानी अमलाको स्याउला एकभारी काटेर ल्याएँ । त्यसपछि बाख्राहरुलाई हालिदिए । पटकेहरुलाई यति भा बिहानभरिको लागि पुग्यो मनमनै भनें । त्यसपछि हतारहतार खाना खान बसें । आमाले माटोको हन्डीमा आँधा माना कनिकाको भात पकाइ दिनुभएको थियो । आधा मैले खाए र आधा बैनीलाई राखी दिए । आमाले अर्खौले हटियामा चामल बेच्न थाल्नु भएपछि कनिकाको भएपनि भात खाने हामीलाई सौभाग्य जुरेको थियो ।  

हल्हली बढ्दो उमेर थियो । त्यसैले त्यति जाबो खानाले अघाउन त के अघाउँथे र नै । तैपनि आधापेट जस्तो खाना खाएपछि म स्कूल जाने तर्खर गर्छु । पहिले दुईचोटी स्कूल छाडिसकेको थिएँ । अब तेश्रो चोटी स्कूल जाने भएपछि थोरै उत्साहित र जोसमा थिएँ । कापीकलम केही थिएन । फङलङ फङलङ हिँडेर रित्तै स्कूल पुग्छु ।  

स्कुल पुग्दा साथीहरु मभन्दा झन् चाँडै आएका रहेछन् । उनीहरुसँग भेटेपछि प्राङ्गणमा थाङ्नाको बल खेल्न थाली हाल्छौं । खेल्न थालेपछि समय के कति गयो पत्तै हुने भएन । खेल्नको धुन थियो । निक्कै अबेर गरेर देबेम्पा सर स्कूल आउनु भयो । उहाँ आउने बितिक्कै स्कूल लाग्यो भनेर उर्दी जारी गर्नुभएको थियो । सरले त्यसो भन्ने बितिक्कै अन्य विद्यार्थीहरु आ-आफ्नो कक्षा कोठातिर लागिहालेँ । म चाहिँ अब कुन कक्षामा जाने होला भनेर एकछिन् आरेमेरे परेको थिएँ । तर म त्यहीँ एक्लै उभिरहेको देखेर, –

“ए ! तिमी पनि स्कूल आको ?” उहाँले सोध्नु भयो ।

“आमाले स्कूल जा भनेर आको,” छोटकरीमा जवाफ फर्काएँ ।

“पोहोरसम्म दुई कक्षामा पढेको थियौं । अब यो वर्ष तीन कक्षामा भर्ना हुनु,” त्यसपछि सरले मलाई तीन कक्षामा भर्ना गरिदिनु भयो । “अँ ! भर्ना त गरिदिए तर पढ्नु सक्छौं कि सक्तैनौ ?” पुन प्रश्न गर्नुहुन्छ ।

“खै ! मलाई के थाहा छ र ? म त हाफ टाइमसम्म मात्र पढ्ने हो । त्यो पछि गोठाला जानु पर्छ ।” खास्सै त्यसबेला त्यति राम्रो बोल्न जान्दिनथें र त्यस्तै भनें ।

स्मृतिको तिनै पुरानो दिनहरु सर्लक्कै सोहोरेर ल्याउने हो भने म अडभङ्गे मात्र होइन । गाउँमा त्यसबेला बिल्कुल रूखो बानीबेहोरा भएको एकजना गँवार मान्छे रहेछु ।

तर सरले मेरो कुरो सुनेर, – “लौ ! त्यसरी कहाँ हुन्छ र ? कति मज्जाको कुरा गर्यौ । बाजेबजूसँग गएर म कुरो गर्छु । स्कूल आएपछि दिनभरि पढ्नु पर्छ ।” खिरिलो आँखा तरेर मलाई त्यतिसम्म भन्नुहुन्छ ।

अक्सफोर्ड – इँगल्यान्ड ।

क्रमशः

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री