गायिका मिलन नेवार ‘स्वर कोकिला लता मंगेशकर सम्मान’बाट सम्मानित

ग्रेटर नोएडा । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजना गरिएको ‘राष्ट्र शक्ति शिखर सम्मेलन’मा नेपालकी गायिका मिलन नेवार लाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ले सम्मान गरिएको छ ।

संगीत क्षेत्रमा उहाँले नेपाल र भारतमा पुर्‍याएको उत्कृष्ट योगदानको लागि सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेवार अहिलेको नेपाली संगीतमा अत्यन्तै व्यस्त र लोकप्रिय गायिकामध्येकी अग्रस्थानमा रहनुभएकी गायिका हुनुहुन्छ । उहाँले नेपाली भाषाबाहेक १० भन्दा बढी भाषामा सयौं गीतमा आवाज दिनुभएको छ । उहाँले दर्जनौं सांगीतिक अवार्डहरूसहित विभिन्न सम्मान प्राप्त गर्नुभएको छ भने दर्जनौं गीतहरू चर्चित रहेको छ ।

सम्पर्क क्रान्ति परिवारद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूलाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’, ‘राष्ट्र तेजस्विनी सम्मान’, ‘राष्ट्र यशस्विनी सम्मान’ लगायत विधामा सम्मान प्रदान गरियो ।

कार्यक्रममा महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वालम्बनजस्ता विषयहरूमा गम्भीर छलफलसमेत भएको थियो ।

नेपालबाट सम्मान ग्रहण गर्न उपस्थित गायिका नेवारले आफ्नो सम्मानलाई नेपाली संगीत र संस्कृतिको प्रतिनिधित्व गर्ने अवसरको रूपमा लिएको बताउनुभयो । उहाँले यो सम्मान आफ्नो लागि मात्र नभएर सम्पूर्ण नेपाल देशकै लागि भएको महसुस गरेको बताउँदै सबै नेपाली र नेपाली संगीत क्षेत्रका महिलाहरूको सम्मान भएको हिसाबमा आफूले लिएको भन्दै धन्यवाद दिनुभयो । उहाँले यो सम्मानले नेपाली महिलाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

साथै यो सम्मान आफ्नो सांगीतिक जीवनको एउटा महत्वपूर्ण उपलब्धि भएकोमा गर्व लागेको बताउनुभयो । उक्त अवसरमा भारतका विभिन्न राज्यबाट आएका प्रतिभाशाली महिलाहरूले आफ्ना अनुभव र सफलताका कथाहरू सुनाए ।

सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई अत्यन्तै रमाइलो बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री