डा. बच्चु कैलाश कैनी केन्ट काउन्टी काउन्सिलको उम्मेदवार

लन्डन । डार्टफोर्ड काउन्सिलका पूर्वकाउन्सिलर डा. बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिलको निर्वाचनमा डार्टफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार बन्नुहुने भएको छ । उहाँ सन् २०१७ को संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट डार्टफोर्ड निर्वाचन क्षेत्रको उम्मेदवार रहनुभएको थियो ।

सन् २०१३ देखि लेबर पार्टीमा सक्रिय डा कैनी हाल लेबर पार्टी डार्टफोर्ड जिल्ला समितिको कार्यकारी सदस्य र पार्टीको बिएएमई (अश्वेत र अल्पसंख्यक जातीय समुदाय) इन्चार्जको रुपमा कार्यरत हुनुहुन्छ । तनहूँमा जन्मेका डा. कैनी र उहाँको परिवार पञ्चायतकालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय थियो । यो अवसर सँगै डा. कैनी बेलायतको दुई स्थानीय तह जिल्ला र काउन्टी तथा संसदीय गरी तिनै स्तरको निर्वाचनमा नेपाली समुदायबाट बेलायतमा उम्मेदवार हुने पहिलो व्यक्ति बन्नुभएको दाबी छ । सन २०१७ को संसदीय निर्वाचनमा पराजित भए तापनि डा कैनीले सम्मानजनक १८,०२४ मत प्राप्त गर्नु भएको थियो ।

बेलायतमा हरेक वर्ष मे महिनाको पहिलो बिहीबार स्थानीय निर्वाचन हुन्छ । देशभरिका स्थानीय निकायहरुमध्ये हरेक वर्ष केही निकायको निर्वाचन हुन्छ । बेलायतमा निर्वाचित स्थानीय जनप्रतिनिधिको पदावधि चार वर्षको हुन्छ । यो वर्ष २०२५ को मे १ मा १४ काउन्टी काउन्सिलहरू, ८ एकात्मक प्राधिकरणहरू र १ महानगर वा मेट्रोपोलिटन बरो काउन्सिलको निर्वाचन हुँदैछ । निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने मिति २०२५ अप्रिल २ को ४ बजेसम्म रहेको डा. कैनीले बताउनुभयो ।

बेलायतको काउन्टी काउन्सिल स्थानीय निकायको सबै भन्दा माथिल्लो तह हो । करिब १६ लाख १० हजार जनसंख्या भएको केन्ट काउन्टी काउन्सिलमा डार्टफोर्डसहित १२ जिल्ला छन् । ७२ डिभिजन रहेको केन्ट काउन्टी काउन्सिलमा डार्टफोर्ड काउन्सिलभित्र ६ वटा डिभिजन छन् । यी मध्ये डा. कैनी डार्टफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार चुनिनुभएको छ । डार्टफोर्ड वेस्ट डिभिजनमा करिब १७ हजार मतदाता छन् ।

यो निर्वाचनमा डा कैनीको मुख्य एजेन्डा स्थानीय पूर्वाधार सुधार गर्ने, स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूलाई सुदृढ गर्ने, युवाहरूका लागि शिक्षा र अवसरहरू बढाउने, यातायात सेवाहरु सुदृढ गर्ने, सामाजिक न्यायको प्रवर्द्धन गर्ने, सबैका लागि अवसरहरू सुनिश्चित गर्ने, स्थानीय व्यवसायहरूलाई समर्थन गर्ने, डार्टफोर्डमा आर्थिक विकासलाई अगाडि बढाउने आदि रहेको कुरा डा. कैनीले बताउनु भएको छ ।

स्वास्थ्य ब्यबस्थापन क्षेत्रमा नेपाल र बेलायत गरी ३३ वर्षभन्दा बढी काम गर्नु भएका डा. कैनी हाल बेलायतको एक विश्वविद्यालयमा स्वास्थ्य ब्यबस्थापनको सिनियर लेक्चररको रुपमा कार्यरत हुनुहुन्छ । सन् २००५ देखि डार्टफोर्डमा बसोबास गर्दै आउनुभएका डा. कैनी अस्पताल ब्यबस्थापनको चार र नेपाली साहित्यमा छ गरी दश वटा पुस्तकको लेखक पनि हुनुहुन्छ ।

डा. कैनीले मे १, २०२५ मा हुने निर्वाचनमा आफ्ना मतदातासँग मत माग्दै एक अपिल जारी गर्नु भएको छ । साथै, बेलायत बस्ने सम्पूर्ण नेपाली समुदायसँग पनि सक्रिय सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री