काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ ।
सर्वोच्च अदालतको परमादेश अनुसार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको हो ।
समितिको प्रमुख निर्वाचन आयुक्तमा घिमिरे, सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहनु भएको छ । नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका वरिष्ठ अधिवक्ता घिमिरे डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुनुहुन्छ भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर घले एनआरएनए यूकेका पूर्वअध्यक्ष हुनुहुन्छ । बेलायतमा बसोबास गर्ने उहाँले हाल पोखरामा आफ्नै होटेल व्यवसाय संचालन गरिरहनुभएको छ ।
त्यस्तै अधिवक्ता उप्रेती युवा कानुन व्यवसायी हुनुहुन्छ । ‘लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेशअनुरुप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको हो ।
संस्थाको लोकतान्त्रिकरण तथा सम्पूर्ण सदस्यहरुलाई अधिकारसम्पन्न गर्ने गरी निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि हामी सम्पूर्ण मित्रहरुलाई आग्रह गर्दछौं,” उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले भन्नुभयो ।
उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र https://nrnahlc.com/membership-registration/ मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ ।
समितिले एनआरएनएका सबै पंजीकृत सदस्यहरुले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी प्रतिनिधि बन्न पाउने व्यवस्था पनि गरिएको जनाएको छ ।