गाजा । गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४१३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । जारी इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन् ।
धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“यस समयमा, आइडीएफ (इजरायल रक्षा बल) र शिन बेटले गाजा पट्टीभरि बिद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,” सेना र शिन बेटले संयुक्त विज्ञप्तिमा उल्लेख गरको छ । “विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन् ।”
इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको बताएको छ ।
हमासले इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाए र इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको थियो ।