लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन १० बुँदे निष्कर्ष निकाल्दै सकिएको छ ।
१८-१९ मार्च २०२५ मा कम्बोडियामा आयोजित सम्मेलनले गैरआवासीय नेपाली संघले नागरिकता कार्यान्वयनका लागि कानुनी प्रबन्ध मिलाउनुपर्ने लगायत माग गर्नेसहितका निष्कर्ष निकालेको हो । संविधानको धारा १४ मा व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन गर्नुपर्ने एनआरएनएको माग छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यता भएको सम्मेलनमा ३० देशका तीन सयभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको संघले जनाएको छ ।
यस्ता छन् निष्कर्षहरू
गैरआवासीय नेपाली संघको १० औँ एसिया -प्रशान्त क्षेत्रीय सम्मेलन- ‘संगम’ २०२५ मार्च १८ देखि १९ सम्म कम्बोडियाको राजधानी नोम पेन्हमा “संगम–एकता” भन्ने नाराका साथ भव्य रूपमा सम्पन्न भयो। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता र कम्बोडियाका परराष्ट्र राज्य मन्त्री डा यून केहाङ, पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरि, पूर्व मन्त्री एकनाथ ढकाल, लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहितको उपस्थितिमा सम्मेलन सम्पन्न भयो । सम्मेलनमा ३० देशका तीन सय भन्दा बढी प्रतिनिधिहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो। सम्मेलनमा विभिन्न महत्त्वपूर्ण मुद्दामा छलफल गरियो। विशेषतः सम्मेलनले नीति सुधार र संसदीय योगदानका माध्यमबाट एनआरएनए–पीएनओका समस्याहरू समाधान गर्दै नेपालको आप्रवासी समुदायको संलग्नता बढाउने उपायहरू, कला र संस्कृतिको मार्फत एनआरएनलाई संस्कृति, परम्परा र शिक्षासँग जोड्नको लागि पहल, एसिया -प्रशान्त क्षेत्रको पर्यटन,व्यवसायिकता र आर्थिक एकीकरणलाई नेपालमा लगानी अवसरको प्रवर्धन, युवा र आप्रवासीहरूको चुनौती र अवसरमा एनआरएनएको महत्वपूर्ण भूमिका र भविष्यमा यसको एकता र रणनीतिक दृष्टिकोण, एनसीसीलाई सुदृढ गर्दै अवसरहरूलाई तीव्र बनाउने र चुनौतीहरू पार गर्ने रणनीतिहरू अपनाउनुपर्ने महत्त्वपूर्ण लगायतका विषयमा दिशानिर्देश गरेको छ। सम्मेलनका निष्कर्षहरू निम्नानुसार रहेका छन्।
१. नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका सम्पूर्ण निर्णय र सहजिकरणाको लागि हार्दिक आभार व्यक्त गर्दै संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि यथाशक्य छिटो आवश्यक कानूनी प्रबन्ध मिलाइदिन तथा गैरआवासीय नेपाली ऐन यथाशक्य छिटो संशोधनसहित कार्यान्वयनमा ल्याउन यो सम्मेलन अनुरोध गर्दछ।
२. थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी, कम्बोडिया लगायतका देशहरुमा रहनुभएका नेपाली मुलका ५ लाख भन्दा बढी नेपालीहरु नेपाली मूलका विदेशी नागरिक PNO को पहिचान(परिचयपत्र) को लागि यथाशक्य चाँडो आवश्यक कानूनी प्रबन्ध र पहल गर्न नेपाल सरकारसँग यो सम्मेलन माग गर्दछ ।
३. सर्वोच्च अदालतले ७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनू भनी आदेश दिएको थियो । सर्वोच्च अदालतले निर्देशन जारी गरेको ७ वर्ष बितिसक्दा पनि विदेशमा रहेका नेपाली नागरिकहरूले निर्वाचनमा भाग लिन पाउने सम्भावना अघि बढ्न सकेको छैन । यसर्थ
आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाइनमार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई यो सम्मेलन अनुरोध गर्दछ ।
४. विदेशमा रहेका नेपालीहरुको सानादेखि ठूलासम्म लगानी भित्र्याउने उद्देश्यले स्थापित नेपाल सरकार समेतको लगानी रहेको १० अर्बको नेपाल एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनको लागि हालसम्म भएका कानून संशोधनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ यद्यपी धितोपत्र बोर्डले ल्याएको धितोपत्र निष्काशन तथा वितरण सम्बन्धि निर्देशिकामा सरकारबाट आइपीओको प्रतिशतमा ४९ प्रतिशत स्वीकृत भएकोमा हामीले ८५ प्रतिशतको माग गरिरहेका छौँ । यसर्थ उक्त माग यथाशक्य छिटो सम्बोधन गर्न अनुरोध गर्दछौँ । निर्देशिका जारी भएको मितिले ५ देखि ६ महिनाभित्र आइपिओमा जाने लक्ष्य हाम्रो छ । यसर्थ त्यसमा सरकारले सहज वातावरण निर्माण गर्न पनि यो सम्मेलन अनुरोध गर्दछ ।
५. एसिया-प्रशान्त क्षेत्रमा बसोवास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा पीएनओ, युवा महिलालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद् सम्मेलनमार्फत प्रतिबद्धता जाहेर गर्दछौं।
६. हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयनसहित त्यसको निरन्तरता सुनिश्चितता गर्ने तथा विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यक संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलन अनुरोध गर्दछ।
७. बिदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलन अनुरोध गर्दछ ।
८. एनआरएनको अभियान सबै मन्त्रालयसँग जोडिन्छ । एनआरएनए ऐनमा समेत व्यवस्था भएको र १० वर्ष अघि गठनको प्रक्रियामा स्मरण गराउँदै हालसम्म गठन हुन नसकेको सल्लाहकार बोर्ड जसमा गैरआवासीय नेपाली संघसहित तालुकदार मन्त्रालय, सरोकारवाला स