काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त हुनुभएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले घिसिङले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आउनुभएको थियो ।
गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्री खड्काले फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुई बुँदे स्पष्टीकरण सोध्नुभएको थियो ।
घिसिङले नेपालमा कहालीलाग्दो लोडसेडिङलाई हटाएको भन्दै उहाँलाई पदबाट नहटाउन सरकारमाथि चौतर्फी दबाब दिइरहेको बेला सरकारले अन्तत: घिसिङलाई हटाएको हो ।