लन्डन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोप्रति नेकपा माओवादी केन्द्र निकट प्रवास समिति नेपाली जनप्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ ।
मंगलबारविज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो । ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको बर्खास्तप्रति नेपाली जनप्रगतिशील मञ्च बेलायत गम्भीर चिन्ता व्यक्त गर्दछ र यस निर्णयप्रति कडा आपत्ति जनाउँछ’, विज्ञप्तिमा उल्लेख छ, ‘घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले ऐतिहासिक सुधार गर्दै मुलुकभरको लोडसेडिङ अन्त्य गरेको मात्र होइन, ऊर्जा उत्पादन, वितरण र व्यवस्थापनमा अभूतपूर्व योगदान पुर्याएको छ । उहाँको कार्यकाल जम्मा चार महिना मात्र बाँकी रहँदा पटक–पटक स्पष्टीकरण माग्ने, कार्यसम्पादन मूल्याङ्कनमा अन्यायपूर्ण अंक प्रदान गर्नेजस्ता मानसिक दबाब सिर्जना गरिनु गम्भीर रूपमा अपमानजनक र आपत्तिजनक छ ।’
घिसिङलाई बर्खास्त गरिनु सरकारको गैरजिम्मेवार निर्णय भएको मञ्चको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी मुलुकका प्रमुख संस्थाहरूमा हुने कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेपको कडा विरोध गर्दछौं । नेपालजस्तो विकासशील राष्ट्रका लागि ऊर्जा क्षेत्रको स्थायित्व आर्थिक समृद्धिको आधारशिला हो । संस्थागत निर्णयहरू पारदर्शिता, निष्पक्षता, र व्यावसायिक मापदण्डहरूमा आधारित हुनुपर्छ । श्री घिसिङको बर्खास्ती जस्तो गैरजिम्मेवार निर्णयले नेपालको ऊर्जा विकास र समग्रदेशको बिकासमा दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ र प्रशासनिक निष्पक्षताको सिद्धान्तलाई कमजोर बनाउनेछ र भ्रष्टाचारलाई मलजल गर्नेछ ।’
मञ्चले उक्त निर्णय फिर्ता लिई कुलमानलाई पुनर्बहाली गरी ऊर्जा, वित्तीय तथा प्रशासनिक संस्थाहरूलाई अनावश्यक राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।