राजसंस्था समर्थित प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंमा झडप, तीनकुनेमा कर्फ्यु

काठमाडौँ । काठमाडौँको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरेका छन् । त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । “प्रहरीले संयमित भएर आफ्नो कर्तव्य निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “प्रदर्शनकारीहरुले केही घरमा आगजनी र तोडफोड गरेका छन्, क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।” झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । त्यसअवसरमा प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार अपराह्न ४:२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री