पूर्वराजाका समर्थकहरूको आन्दोलनका क्रममा पत्रकारसहित २ को मृत्यु


काठमाडौँ । तीनकुनेमा पूर्वराजाका समर्थकहरूद्वारा जलाइएको एक निजी घरमा मृत भेटिएका व्यक्ति एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक भएको पुष्टि भएको छ ।

एभिन्यूज टिभीका समाचार शाखा प्रमुख केदार कोइरालाले मृतक व्यक्ति पत्रकार रजक रहेको पुष्टि भएको उल्लेख गर्दै प्रहरीद्वारा सनाखत गर्ने काम भइरहेको जानकारी दिनुभयो । पत्रकार रजक उक्त घरको छतबाट आन्दोलनको दृश्य कैद गर्ने क्रममा घरमा आगजनी भएपछि बाहिर निस्किन नपाएर मृत्यु भएको हो ।

यसैगरी तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको झडपमा एक जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिनुभयो । “झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो”, सहसचिव रिजालले भन्नुभयो, “काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।”

गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् ।

यसैबीच, नेपाल पत्रकार महासङ्घले राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार सङ्कलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ । महासङ्घले आज प्रेस विज्ञप्तिमार्फत पत्रकार रजकको जलेर निधन भएको खबरले स्तब्ध भएको जनाउँदै यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासङ्घले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रदर्शनकारीको समूहले विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य गरेको भन्दै महासङ्घले भत्सर्नासमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री