भूकम्प प्रभावितलाई सहयोग गर्न एनआरएनए उच्चस्तरीय समिति संयोजक घलेको अपिल

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले म्यान्मार भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री तथा सहयोग पुर्‍याउन अपिल गरेको छ ।

उच्चस्तरीय समिति संयोजक डा. शेष घलेले शुक्रबार २५ मार्च २०२५ मा प्रेस विज्ञप्ति जारी गर्दै संकटको घडीमा प्रभावित क्षेत्रमा राहत सामग्री तथा आवश्यक सहयोग पुऱ्याउन सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, र सहयोगी हातहरूलाई आह्वान गर्नुभएको हो ।

‘गम्भीर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, एनआरएनए उच्चस्तरीय समितिले उद्धार तथा राहत कार्यक्रम प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

साथै, यो संकटको घडीमा प्रभावित क्षेत्रमा राहत सामग्री तथा आवश्यक सहयोग पुऱ्याउन सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, र सहयोगी हातहरूलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा छ ।

म्यानमारलाई केन्द्रविन्दू बनाएर शुक्रबार आएको विनाशकारी भूकम्पका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति एनआरएनए उच्चस्तरीय समितिले गहिरो दुःख व्यक्त गरेको छ । यस भूकम्पको असर छिमेकी पर्यटकीय देश थाइल्याण्डमा समेत गम्भीर रूपमा परेकोले थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदाय र अन्य प्रभावित नागरिकको सुरक्षाका लागि एनआरएनए थाइल्याण्ड शाखालाई उद्धार तथा राहत कार्यमा सक्दो सहयोग पुऱ्याउन पनि डा घलेले अनुरोध गर्नुभएको छ ।

साथै एनआरएनएको तर्फबाट उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।पछिल्लो जानकारीअनुसार म्यानमारमा शुक्रबार आएको भूकम्पमा परी १४४ जनाको मृत्यु हुनुका साथै ७३२ भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री