लन्डन । नेपाल पत्रकार महासंघ यूकेले राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने काठमाडौंमा शुक्रबार भएको आगजनीमा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृ्त्यु र सञ्चारगृहमा आक्रमण गर्नलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
महासंघ बेलायत शाखाका अध्यक्ष विमला सेने र महासचिव खेमराज रानाभाटले शनिबार २९ मार्चमा प्रेस विज्ञप्ति जारी गर्नुहुँदै प्रेस स्वतन्त्रताको रक्षा, सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चित गर्न माग गर्नु भएको हो ।
‘सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न शाखाको जोडदार माग छ,’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सुरेश रजकको दुःखद निधनप्रति स्तब्ध भएको जनाउँदै प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुर्याउने कार्य तथा सार्वजनिक तथा निजी सम्पत्ति माथिको आगजनी र लुटपाटजस्ता हिंसात्मक क्रियाकलापप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखा घोर भर्त्सना गरेको छ ।
शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो । तर पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रताको अधिकार सदुपयोगमा खलल पुर्याउने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक भएको पत्रकार महासंघ बेलायतको ठहर छ ।