कस्तुरी यात्रा : एउटा पाठकीय अनुभूति

अहिले रचनाकार शान्ति लिम्बुको हाइकु, मुक्तक र गीतहरुको त्रिवेणी संगमको रुपमा प्रकाशित कृति “कस्तुरी यात्रा” मेरो हातमा छ ।

अत्यन्तै शालिन अनि भद्र व्यक्तित्वकी धनी साहित्यकार शान्ति लिम्बु बहिनीसँग निकै अगाडि विनेसाम यूकेले गरेको निकै भव्य कार्यक्रममा परिचय भएलगत्तै उहाँको “मिलीजुली” नामक उपन्यास पठनको सौभाग्य मिलेको थियो । त्यसपश्चात् बहिनीसँग यूकेमा भईरहने विभिन्न साहित्यिक र सामाजिक कार्यक्रमहरुमा भेटघाट भई नै रहन्छ, यही सिलसिलामा बहिनीले मलाई आदरपूर्वक हस्तान्तरण गर्नु भएको कृति “कस्तुरी यात्रा” सरसर्ति हेरेर थन्काएको सेल्फबाट व्यस्ततारुपी बहाना भनौ या बाध्यतात्मक परिस्थितिले गर्दा करिब एक वर्षपश्चात् अहिले फेरि निकालेर दोहोर्‍याउँदै जाँदा दुई/चार शब्द कोर्ने रहर जाग्छ ।

एउटा प्रखर कवि, गीतकार वा बहुप्रतिभाशाली लेखिका शान्ति लिम्बु संगीत र साहित्यप्रतिको अनुरागले नजिकिएको निश्छल नाता हो र बसोबासको हिसाबले नेपालमा छिमेकी जिल्लावासी भए तापनि यूकेमा हामी फार्नबोरोवासी हौं ।

डायस्पोरा विशेष बेलायतमा रहेर विभिन्न सिर्जनात्मक कार्यहरुमा अघि बढिरहेका सर्जकहरुका जमातमा एउटा प्रखर नारी हस्ताक्षरका रुपमा पहिचान बनाउन सफल शान्ति लिम्बुको पारिवारिक पृष्ठभूमि गोर्खाली सिपाही अर्थात् लाहुरे वा उनीहरुको सन्तानको रुप नै हो । यसैले उहाँको लेखनमा स्वदेशप्रेम र परदेशिनुको बाध्यता र पीडाहरुलाई नै मूलत: सम्बोधन गरिएका भेटिन्छन् ।

उहाँले आफ्नो कृति कस्तुरी यात्रामा लेख्नुभएको भनाइ उद्दृत गर्ने हो भने “प्रत्येक दिन हजारौं नेपाली युवायुवतीहरु ठूलो समूहमा देश छोडेर विदेशतिर उड्दैछन् । ती विकसित देशका मानिसहरु चन्द्रमा हुँदै अन्य ग्रहको खोजयात्रा गर्दैछन्, अनि लाग्छ, हामी सबै कस्तुरी यात्रामा छौं । यो पृथ्वी स्वयंले पनि आफ्नै तवरले कस्तुरी यात्रा गरिरहेको छ । यस्तै यात्रा नै हो यो जीवन र यस्तै यात्रा हो कस्तुरी यात्रा सङ्ग्रह पनि ।” मैले यसैमा प्रसंगवस मेरो विचार जोड्न चाहेँ, “हो, यो कृति पनि कस्तुरीले छोडेको सुगन्धित विनारुपी सुगन्ध हो, जो युगौंयुग पाठकहरुमाझ अमर रहिरहनेछ ।”

“कस्तुरी यात्रा” पहिलो खण्डमा १०० वटा हाईकु, दोस्रो खण्डमा ३० वटा मुक्तक र तेस्रो वा अन्तिम खण्डमा २० वटा गीतहरु समाविष्ट रहेको यो पुस्तकका हरेक रचनाहरु उस्तै मनोहारी छन् । यो उनको दोस्रो कृति हो । पहिलो “मिलिजुली” उपन्यास तर उहाँको भनाइअनुसार आफ्नो कृतिहरुलाई सन्तानकै रुपमा स्वीकार गर्दै आफ्नो दुई प्यारी छोरीहरु चेरिसा र शानफुङलाई पनि क्रमबद्ध गरेर यो पुस्तकलाई चौथो सन्तानको दर्जा दिएकी छिन्, यसैबाट साहित्यप्रतिको अनुराग र समर्पणको अनुमान गर्न सकिन्छ । हु न पनि हो कुनै पनि सिर्जनालाई मूर्तरुप दिएर लोकार्पण गर्न सक्नु चानचुने कुरो होइन ।

कस्तुरी यात्रा” हाइकु खन्ड:-

शिरिस फूल

भ्रमर चुम्बन मै

ओइली झर्छ ।

यो ३ हरफ धेरै पहिले पारिजात दिदीको “शिरिसको फूल” मा पढ्ने अवसर मिलेको थियो, जुनबेला यो संरचनागत रुपले हाइकु हो भन्ने कुरोबाट म अनभिज्ञ थिएँ, पछि मात्रै ५, ७, ५ को मात्रामा लिखित यो रचना हाइकु हो भन्ने बुझ्ने अवसर पाएको थिएँ ।

हाइकु मूलत: जापानी काव्यिक रचनाको एउटा विधा हो । जापानी संस्कृतिको परम्परा र साहित्यिक सौन्दर्य चेतनाको अनुपम विधाको हाइकुलाई कवि मात्सुओ बाशो (१६४४-१६९४)ले “बासोको हाइकु” शीर्षकको संग्रह प्रकाशित गरेका थिए । यसरी हाइकु मात्सुओ बाशोले सत्रौं शताब्दीमा नै जीवन दर्शनसँग जोडेर जापानी साहित्यको युगधाराको रूप में उदय गरिसकेका थिए । अत्यन्तै कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु र सिजोलाई पूर्वी एसियाली साहित्यको विश्व साहित्यलाई उदाहरणीय रूपमा लिइन्छ ।

संरचनागत नियमअनुसार हाइकु, पहिलो हरफमा पाँच अक्षर, दोस्रो हरफमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षर गरी जम्मा सत्र अक्षरको हुन्छ तर यो शास्त्रीय संरचनाको नियमले मात्र पर्याप्त हुँदैन, संरचनागत नियम, कलात्मकता शैली, गहन भावपक्ष र व्यापक अर्थ राख्नु सक्नु हाइकुको कठिन मान्यता र शास्त्रीय चरित्र हो ।

नेपाली साहित्यमा हाइकुको रचना गर्ने प्रथम हाइकुकार शंकर लामिछाने मानिन्छन्, उनले नै सर्वप्रथम वि सं २०१९ सालमा रूपरेखा पत्रिकामा ‘हाइकु’ प्रकाशन गरेका थिए । त्यसपछि नेपालमा पनि हाइकुको प्रभाव बढ्दै गयो । यसरी सुरु भएको नेपाली हाइकु लेखनले अहिले आएर निकै लोकप्रियता हासिल गरेको छ ।

नेपाली साहित्य क्षेत्रमा हाइकुका सयौँ कृतिहरू प्रकाशन भइसकेका छन् भने जनक सापकोटाले अन्तर्राष्ट्रिय हाइकु समाजमा नेपाली हाइकु स्थापित गरेका छन् । मलाई थाहा भएअनुसार बेलायतमा सम्भवत: साहित्यकार केदार संकेतको हाइकुसंग्रह “पलांसको फूल” पहिलो हो भने दोस्रोसंग्रह “कस्तुरी यात्रा” हो, अन्यथा परे क्षमाप्रार्थी रहँदै कस्तुरी यात्रामा मलाई मन परेको केही हाइकुहरु राख्न चाहन्छु:-

आकाश हेरेँ

भर्खर सेतो थियो

रङ्ग बदल्यो ।

कमल फूल

टिपौँ कि जस्तो लाग्यो

हिलोले रोक्यो ।

खहरे खोला ठूलो गडगडाउँछ

लगत्तै सुक्छ ।

अहंकार छ सुख र शान्ति छैन

जिउँदो लाश

उनको रचनाहरुको रस्वादन गर्दै जाँदा कतिपय सिर्जनामा उनले हरेक वस्तुलाई तथ्यपरक दृष्टिले हेरेर, महसुस गर्दै मानवीय संवेदना र विसंगतिहरुप्रति मज्जाले सकरात्मक सोचको हथौडाले प्रहार गरेकी जस्तो लाग्छ । यद्यपि पाठकहरुले कुनै पनि काव्यिक रचनाहरु पढेपछि आफ्नो स्वविवेक र स्वविचारले त्यसभित्र रहेको भाव, अर्थ र मर्मलाई बुझ्ने, देख्ने र अनुभूत गर्ने आ-आफ्नै क्षमता र दृष्टिकोण हुन्छ । त्यही नै कुनै पनि रचनाहरुको सार र मूलभूत गुण हो । यसैले उहाँको यी रचनाहरुप्रति आफ्नै बुझाई र दृष्टिकोण हुनसक्छ ।

मुक्तक खन्ड:

नेपाली साहित्यको अभिन्न अंगको रुपमा लेखिने यस विधामा डायस्पोराबाट पनि धेरै मुक्तककारहरुले संग्रहको रुपमा आफ्नो कृतिहरु प्रकासित गरिसकेका छन् । यसै क्रमलाई निरन्तरता दिँदै शान्ति लिम्बुले पनि आफ्नो कृतिमा कृतिमार्फत मुक्तककारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन ।

यसै सन्दर्भमा मैले बुझे अनुरुप मुक्तकको छोटो परिचय राख्दा उपयुक्त होला भन्ने लागेको छ । मुक्तक कविताको लघुतम रूपमा पर्ने एउटा प्रभावकारी काव्यविधा हो । ‘मुक्तक’को शाब्दिक अर्थ नै स्वतन्त्र रचना भन्ने हो । मूलतः मुक्तकको संरचना चार हरफ हुन्छ । प्रायः पहिलो र दोस्रो हरफका अन्त्यको शब्द अनुप्रासबद्ध हुनु, तेस्रो हरफ स्वतन्त्र हुनु र चौथो हरफ पहिलो र दोस्रो जस्तै अनुप्रासबद्ध हुनु मुक्तकको संरचना मानिन्छ ।

संरचनागत चार हरफको भएका कारण मुक्तकलाई उर्दू वा फारसी साहित्यमा प्रचलित रुवाईसँग जोडेर पनि हेर्ने गरिन्छ । रुवाई फारसी साहित्यको मात्र नभएर विश्वसाहित्यकै चर्चित र अति लोकप्रिय विधा मानिन्छ । जसको जन्मदाता फारसी कवि उमर खैय्याम (सन् १०४४–११२३) हुन् । यिनका रुवाईहरू अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुवाद भएर विश्वप्रसिद्ध बनेका छन् । रुवाई पनि मुक्तक झै चार हरफको छन्द वा बहरमा लेखिन्छ । यी दुवैको बनोट, बुनोट र आनुप्रासिक व्यवस्थापन आदिलाई हेर्दा उस्तै लागे पनि रुवाईका सबै पङ्क्तिमा अक्षरगत वा मात्रागत समानता हुनु अनिवार्य छ भने मुक्तकमा त्यस्तो अनिवार्य नियम पाइँदैन । मुक्तकको न्यूनतम संरचना चतुष्पदी अर्थात् चार हरफ हो र त्यसमा ‘ए, ए, बी, ए’ को व्यवस्थापन अनिवार्य मानिन्छ । उक्त संरचनालाई यसरी बुझ्न सकिन्छ—

ए = अनुप्रासयुक्त पहिलो हरफ (यसले भावको थालनी गरी उत्सुकताको प्रारम्भ)
ए = अनुप्रासयुक्त दोस्रो हरफ (यसले भावलाई गति दिई उत्सुकता)
बी = स्वतन्त्र तेस्रो हरफ (यसले वैचारिक निष्कर्षका लागि परिवेश बनाउने)
ए = अनुप्रासयुक्त चौथो हरफ (यसमा लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना हुन्छ)

यो मुक्तकमा हुनुपर्ने न्यूनतम संरचना हो । यसको पहिलो र दोस्रो हरफमा अनुप्रास अनिवार्य हुनुपर्छ, तेस्रो हरफ स्वतन्त्र हुन्छ तर चौथो हरफमा पुनः अनुप्रास अनिवार्य मानिन्छ । यसरी आएका अनुप्रासहरूमा ध्वन्यात्मक एकरूपता हुनुपर्छ तर शब्द अक्षरशः दोहोरिनु हुँदैन ।
यसबाहेक मुक्तकमा जीवन जगतका बारे गहन विचार, चोटिलो प्रहार र अद्भूत झड्का भएमा जीवन्त बन्न सक्छ । यसै कृतिमा समाविष्ट केही मुक्तकहरु पाठकहरुसँग पनि शेयर गर्ने जमर्को गर्दैछु ।

फाटेका लुगा सिलाउन काफी हुन्छ एउटा सियो
अँध्यारो हटाउनु बाले पुग्छ एउटा दियो
टुटेको मन र छियाछिया परेको छाती जोड्न
आफै बन्न सक्नुपर्छ जीवनको एउटा मियो ।

जीवनमा एकै खालको कहिले पल हुँदैन
सुख जस्तै दु:ख पनि कहिले अटल हुँदैन
संकटहरु आउँछन जुझ्दै अघि बढनु पर्छ
संघर्ष बिना जीवन कहिले सफल हुँदैन ।

कहिलेकाही रहरहरु बगिजानु खोज्दा धैर्यको बाँधले छेक्न सक्नु पर्छ
पाईला पाईला चुनौतीहरु तेर्सिदिदाँ आँट र हिम्मतले रेट्नु सक्नु पर्छ
अरु त सबै दर्शक हुन भूमिका निभाउने आफैले हो महोदय
नागबेली बनी जीवनका अनगिन्ती भिडहरु जोसले झेल्नु सक्नु पर्छ ।

कृतिमा समाविष्ट सम्पूर्ण मुक्तकहरु पढ्दा कृतिकारले पर्देशी जीवनको दैनिकी, देश र आफन्तहरुसँग टाढिनुको पीडा र परिस्थितिको उरुङ भार बोकेर बाँच्नुको बाध्यतामा पनि जीवनप्रतिको सकारात्मक सोचलाई आत्मसात गरेकी भान हुन्छ । यही सकारात्मक सोच र उच्च विचारको कारण उनले आफ्नो जीवनयापनको दैनिकी र घरपरिवारप्रतिको दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै विभिन्न साहित्यिक र सामाजिक संघ संस्थाहरुमा पनि उत्तिकै समर्पित भएकी छिन् ।

गीत खन्ड:-

गीत कविताकै एउटा विशेष रुप भए तापनि यसको सम्बन्ध लय, संगीत र गायनसँग महत्वपूर्ण रहेकोले यसको लेखनमा संरचनागत केही विशेष नियमहरु अवलम्बन गर्नु पर्ने हुन्छ । गीतमा सबैभन्दा पहिलो पाइला नै शब्दहरुबाट शुरु हुन्छ अर्थात् एउटा गीतकारको शब्द संयोजनले नै गीतको धरोहर निर्माण हुन्छ ।

जसरी उनले परदेशी जिन्दगीलाई एउटा संघर्षरत यात्रीको पारिचायक कस्तुरी यात्राको उपमा दिएकी छिन् उसैगरी आफ्नो रचनाहरुमा पनि परदेशिनुको पीडा र गाउँघरलाई भावनात्मक नदीमा बगाएकी छिन् :

आँखाभरि सपना बोकी परदेशमा आएँ
घरदेश सम्झी उदासीमा आँशु बगाएँ ।

माटोको भर ढुङ्गा भए ढुङ्गाको भर माटो
भेटिएला कहिले कुन्नी घर फर्किने बाटो
आँखाभरि …।

समुन्द्रपार भए पनि तिमी मेरो भर
कुनै दिन त आइपुग्ने छु आफ्नै गाउँघर
आँखाभरी …।

यसरी आशा र निराशाको दोसाँधमा अल्झिएको परदेशी जीवनको मार्मिक भावलाई शब्द रचनामा सिर्जित गर्न सक्ने उनको लेखकीय कला सरहानीय छ । कुनै पनि गीत सुन्दा होस् वा वाचन गर्दा, विशेष रुपले म त्यस गीतको शब्द र भावहरुमा बढी डुब्ने गर्छु, हुन सक्छ गीतकार भएको नाताले मलाई मेलोडी र स्वरसँगै शब्दहरुको मर्मले पनि अत्यन्तै मन्त्रमुग्ध पार्ने गर्छ । उहाँको प्रताप दास, सज्जा चौलागाई जस्ता चर्चित गायक, गायिकाहरुको स्वरमा रिकर्डेड गीतहरु श्रवण गरिसकेको छु र अहिले संग्रह नै आउँदा निकै खुशी लाग्यो । हरेक गीतहरुका शब्दहरु केलाउँदै जाँदा, कतै मायालु भावनामा बगेँ, कतै पीडायुक्त मर्मले मन दुख्यो, कतै आमाप्रतिको समर्मणले नतमस्तक बनेँ, कतै सुनौला सपनाका सहरहरुमा हराएँ । यद्यपि साहित्यका थुप्रै विधाहरुमा सिद्धहस्त रुपले अघि बढिरहेकी शान्ति लिम्बु बहिनीले गीतिलेखनमा पनि केही संरचनागत नियम र शब्द संयोजनमा ध्यान दिए सुनमा सुगन्ध हुन्थ्यो भन्ने लागेको छ ।

हुन त यसरी एउटै कृतिमार्फत अनेक विधाहरु पस्किनु सक्नु साहसिक कार्य हो तर यसरी एउटै कृतिमा सबै कुरो अटाउँदा कहिलेकाहीं साना तिना कमीहरुमा उचित ध्यान पुर्‍याउन नसकिने अवस्था पनि रहन्छ तर पनि उनले सक्दो कोसिस गरेकी छिन । आगामी दिनहरुमा पनि यस्तै सुन्दर कृतिहरुको सिर्जनात्मक कस्तुरी यात्राहरु निरन्तर रहिरहोस् भन्ने शुभेच्छाका साथ फेरिःपनि साहित्यकार शान्ति लिम्बु बहिनीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री