लन्डन ९ अप्रिल २०२५ । गुल्मी जिल्ला समाज यूकेले मिर्गौलापीडित एकल महिला कमला थापामगर खत्रीलाई आर्थिक सहयोग गरेको छ ।
गुल्मीको चन्द्रकोट ४ शान्तिपुरकी दुवै मिर्गौला बिग्रिएकी कमलालाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाको अगुवाइमा बेलायतमा संकलन गरिएको चार लाख १६ हजार २० रुपैयाँ सहयोग मंगलबार हस्तान्तरण गरिएको हो ।
आर्थिक अभावका कारण कमलाको उपचारमा कठिनाइ भएपछि परिवारको आग्रहमा बेलायतमा आर्थिक संकलन गरिएको थियो।कमलाको मेरुदण्डमा समेत समस्या रहेकाले कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा छ । सहयोग संकलन संयोजक एवम् समाजका संस्थापक अध्यक्ष काउछाले कमलाको सहयोगार्थ बेलायतमा आर्थिक संकलनमा सहयोग गर्ने समाजका अध्यक्ष रुद्र थापा, महासचिव महलाल घिमिरे र कार्यसमितिसहित सबै सहयोगदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
समाजले पठाएको रकम काठमाडौंमा उपचाररत पीडितसम्म हस्तान्तरण गरिदिने रुपा राना र पिन्की रानालाई पनि उहाँले धन्यवाद दिनुभयो ।