साहित्यकारहरूले लन्डनमा मनाए नयाँ वर्ष २०८२

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नयाँ वर्ष २०८२ साल आगमनको अवसरमा स्वागत सम्मान, सिर्जना वाचन र गीत सङ्गीतको संयोजन गरी उत्साहवर्धक रूपमा नेपाली नयाँ वर्ष मनाएका छन् ।

वयस्ट लन्डनस्थित एबीआई कलेज एक्टनमा १३ अप्रिल २०२५ मा आयोजित समारोहबीच नयाँ वर्ष मनाइएको हो । उक्त अवसरमा बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेलाई परिषद्को पदेन संरक्षकका रूपमा स्वागत सम्मान परिषद्‌का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल, प्रमुख वरिष्ठ सल्लाहकार डा राघव धिताल ओबीई,वरिष्ठ सहअध्यक्ष ध्रुव केसीलगायत कवि साहित्यकारहरुले ब्याज, खादा, पुष्पगुच्छा र प्रसतीपत्र पढेर अभिनन्दन गरिएको थियो ।

उक्त स्वागत सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत घिमिरेले विदेशमा नेपाली पहिचान जिवन्त राख्न नेपाली भाषा, साहित्य, संस्कृतिजस्ता मूलभूत कुराहरूलाई संरक्षण र संवर्द्धन गर्न नेपाली साहित्य विकास परिषद् यूकेले निरन्तर गरेका गतिविधिहरू अत्यन्त सराहनीय रहेको बताउनुभयो । समारोहमा परिषदको संरक्षकत्व ग्रहण गर्दै राजदूत आचार्यले नेपाल र नेपालीको पहिचान समृद्धि हुने परिषद्का यस्ता सिर्जनात्मक कार्यहरूमा राजदूतावासको सहयोग र सहभागिता निरन्तर रहिरहने विश्वास व्यक्त गर्नु भयो । उहाँले सबै सर्जकहरूमा नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नेपाली दूतावास र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष डा.राघवप्रसाद धिताल ओबिईले बेलायतमा नेपाली भाषा, साहित्य, कलाजस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय छन् भन्नु भयो ।

सभापतिको आसनबाट बोल्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्का पदेन संरक्षक राजदूत कवि घिमिरेको स्वागत सम्मान गर्न पाउँदा हर्षले गदगद् भएको र नेपाली साहित्य विकास परिषद् यूकेले नेपाली पहिचान बोकेको नयाँ वर्ष मनाएर हाम्रो गाउँघर, चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका छौँ भन्नुहुँदै पिरषद्का विविध क्रियाकलापहरूको बारेमा चर्चा गर्नुभयो ।

त्यसैगरी परिषद्‍का पूर्वअध्यक्ष बीबीसी नेपाली सेवाका पूर्वसंचालक कवि खगेन्द्र नेपालीले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना हुँदा तत्कालीन राजदूत सूर्यप्रसाद श्रेष्ठको सल्लाह सहमति र सहभागिताबाट नै बेलायतस्थित नेपाली राजदूत परिषद्को पदेन संरक्षक रहने परिपाटी भएको र तत्पश्चात् पाल्नुभएका सबै राजदूतहरूबाट नेपाली साहित्यको श्रीबृद्धि गर्ने कार्यमा परिषद्‍मा गरिमामय सहभागिता र सहयोग रहँदै आएको चर्चा गर्नु भयो । पूर्वअध्यक्ष नेपालीले हामी यसरी नै सिर्जनाले सिञ्चेर परिषद्को स्थापनाकालदेखि नै आफ्नो माटोको सुवासना बोकेको नेपाली नयाँ वर्ष मनाउँदै आइरहेका छौं र परिषद्‍मा राजदूतावासको प्रत्यक्ष संलग्नताले विशेष महत्व राख्दछ भन्नु भयो ।

यसअघि स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुभयो ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै परिषद्का महासचिव कवि डा.सुधा श्रेष्ठले बेलायतको भूमिमा नेपाली भाषा, साहित्यलाई जोगाउँदै लगेर नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद्ले साहित्यिक गतिविधिहरू गर्दै आएको चर्चा गर्नु भयो ।

राष्ट्रिय गान, मंगल धुनबाट आरम्भ गरिएको समारोहमा अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्को नऔ पदेन संरक्षकको रूपमा राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत सम्मान अभिनन्दन-पत्र पढेर अभिनन्दन गर्नुभएको थियो ।

समारोहमा भर्खरै दिवंगत हुनुभएका परिषद्‌का संस्थापनाकालदेखिका आजीवन सदस्य तथा कार्यसमितिका सदस्य समाजसेवी हरि केसीको सम्झनामा चीर शान्तिको कामना गर्दै एक मिनेट मौनघारणा गरिएको थियो ।

समारोहमा सारङ्गी र मादलमा मङ्गल धुन र परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष बसन्त रायक्षत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानबाट प्रस्तुत गरिएको थियो ।

अन्तमा सहअध्यक्ष रेशम अर्यालबाट उपस्थित अतिथि सबैमा धन्यवाद ज्ञापन अर्पण गर्नुभयो ।

यसैगरी कविता वाचनमा भाग लिने कविहरूमा वसन्त रायक्षेत्री,वासु सापकोटा, घनबहादुर थापा, रेशम अर्याल, डा. सुधा श्रेष्ठ,अनुप अधिकारी,हरिसिंह थापा, मनोज अन्जान, बिरेन्द्र कुँवर र कोमल मल्ल आदि थिए ।

अन्तमा जलपान सहयोगका लागि आभार प्रकट गर्नुहुँदै समारोहका सभापति अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल ओबीई, डा. जनककुमारी धिताल, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, डा. सुधा सुधा श्रेष्ठ, रेशम अर्याल तथा विशेष सहयोगका लागि सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट,सल्लाहकार मदन थापा, उपाध्यक्ष बसन्तराय क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान,ज्ञानेन्द्र राउत, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्ल,सीतु खरेललाई धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री