भारतको जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा कम्तीमा २६ जना मारिए, नेपाली पनि परेको आशंका

श्रीनगर । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । घटनामा केही नेपाली पनि परेको आशंका गरिएको छ। यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, “गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिएँ र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्‍याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखें, जस्ताको त्यस्तै मृत देखिन्थे ।” पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो ।

प्रहरी स्रोत अनुसार अहिलेसम्म २६ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ । हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।

प्रधानमन्त्री मोदीले केही दिनअघि अमेरिकाका उपराष्ट्रपति जे.डी. भान्ससँग भेट गर्नुभएका थिए, जुन सन्दर्भमा यो आक्रमण भएको हो । मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठुलो घटना भएको बताउनुभएको छ ।

गृहमन्त्री अमित शाह घटनास्थलतर्फ जानुभएको छ । साथै, उहाँले दोषीलाई कडा सजाय दिने चेतावनी दिनुभएको छ ।

सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री