लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले एकता महाधिवेशन काठमाडौँमा तोकिएकै समयमा हुने भन्दै सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।
समितिकी सदस्यसचिव जानकी गुरुङले बुधबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै एकता महाधिवेशन काठमाडौँमा तोकिएको समयमै हुने र सम्पूर्ण तयारी पनि पूरा भइसकेकाले कुनै पनि भ्रममा नपरी नेपाल आएर महाधिवेशन सफल बनाउनका लागि सम्पूर्ण प्रतिनिधि (डेलिगेट)हरुमा अपिलसमेत गर्नुभएको छ । महाधिवेशनका लागि ३ हजारभन्दा बढी डेलिगेट्स बन्नका लागि आवेदन परेको जनाउँदै उहाँले त्यसको प्रमाणीकरणको काम भइरहेको बताउनुभयो ।
‘उच्चस्तरीय समितिले अहिले डेलिगेट्सको आवेदन लिने काम बन्द गरिसकेको छ । निर्धारित समयभित्रै ३ हजार १८१ जनाले डेलिगेट्स बन्नका लागि आवेदन दिनुभएको र त्यसलाई प्रमाणीकरण गर्ने काम भइरहेको पनि जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन समितिले पनि आफ्नो काम सुरु गरिसकेको छ भने डेलिगेट्सहरु एकताको महाधिवेशनमा भाग लिनका लागि काठमाडौं आउने क्रम सुरु भइसकेको छ । यस्तो अवस्थामा केही पक्षबाट भ्रम सिर्जना गर्ने कामहरु भइरहेको पाइएकाले त्यस्तो भ्रममा नपर्न हामी हार्दिक अनुरोध गर्दछौं ।’
एनआरएनएको यही मे ३-५, २०२५ मा काठमाडौँमा ऐतिहासिक एकता महाधिवेशन तय गरिएको छ । सर्वोच्च अदालतको २०८१ चैत २१ गतेको फैसलाअनुसार गठित उच्चस्तरीय समितिले महाधिवेशनको तयारी अन्तिम चरणमा पुऱ्याएका बेला सर्वोच्च अदालतमा रिट दायर गरिएको विषयलाई लिएर बाहिर सार्वजनिक भएका कुराहरुमा सत्यता नभएको समेत समितिले स्पष्ट पारेको छ ।