एनआरएनए गैरराजनीतिक हुनुपर्छ : कांग्रेस महामन्त्री थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले गैरआवासीय नेपाली संघमा देखा परेको विवाद अन्त्यका लागि सर्वपक्षीय रुपमा एकताको अधिवेशन हुनुपर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा महामन्त्री थापाले एकता अब वास्तवमै एकताकै लागि हुनुपर्ने र त्यसमा कोही छ्ट्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “एनआरएनलाई मैले प्रारम्भदेखि नियालेको छु, यसलाई गैरराजनीतिक बनाउनुपर्छ र दलीयकरणबाट मुक्त गर्नुपर्छ ।”गैरआवासीय नेपाली ऐनको सन्दर्भमा केही सम्बन्धित ऐनहरुमा पनि संशोधन आवश्यक रहेकोले त्यसमा केही नेपाल ऐन संशोधनको मार्फत अघि बढाउन आफूले सम्बन्धित समितिमा सुझाव दिएको बताउनुभयो । उहाँले एनआरएनएकै तर्फबाट मस्यौदा ल्याउन समेत आग्रह गर्नुभयो ।

उक्त अवसरमा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरेको १८ महिना बितिसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नहुँदा गैरआवासीय नेपालीहरु समस्यामा परेको गैभन्दै संविधानमै रहेको आर्थिक सामाजिक र संस्कृतिक अधिकार प्रयोग गर्न नपाइएको जानकारी गराउनुभयो । डा केसीले अध्यादेशमा गैरआवासीय नागरिकता प्राप्तलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर आएको व्यवस्थाले आफूहरुलाई अन्यायको महसुस भएको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीसंग सम्बन्धीत गैरआवासीय नेपाली ऐन हाल परराष्ट मन्त्रालयमा राय सुझावको क्रममा रहेको भन्दै उक्त ऐनलाई संसदमार्फत प्रक्रियामा लगेर यथाशक्य छिटो ल्याउन समेत अनुरोध गरेको महिला सचिव राधिका (टीका) गुरुङले जानकारी दिनुभयो ।

भेटमा उपाध्यक्ष डा हेमराज शर्माले सरकार र राजनीतिक दलबाट हालसम्म भएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै एनआरएनएमा देखा परेको विवादका सन्दर्भमा स्पष्ट पार्नुभयो । संस्थापक रामप्रताप थापाले उच्चस्तरिय समितिले नितान्त एकलौटी तरिकाले कुनै नीति तथा विधानलाई नमानी गतिविधिहरु हुन थालेपछि आफू उक्त समितिबाट अलग भएको बताउनुभयो । उपाध्यक्ष रोशन थापाले संस्थामा जितेर पनि जितेको महसुस गर्न नपाइएको गुनासो गर्नुभयो । उपाध्यक्ष रोजिना प्रधान राईले संस्थालाई राजनीतिकरण गर्न नहुने धारणा राख्नुभयो । एनसीसी बेल्जियमका निवर्तमान अध्यक्ष खड्क बहादुर केसीले एनआरएनएभित्रको समस्या समाधानका लागि राजनीतिक दलको भूमिकाबारे ध्यानाकर्षण गराउनुभयो ।

ओसनियाका क्षेत्रीय संयोजक दिनेश पोखरेलले एकता महाधिवेशनको नाममा विधान विपरित भइरहेको काम रोक्न पहल गर्न आग्रह गर्नुभयो । आइसीसी सदस्य चिरन शर्माले विदेशमा जनसम्पर्क समितिमा भएको समस्याले एनआरएनएलाई पनि प्रभाव परेकोले त्यता ध्यान दिन सुझाव दिनुभयो ।

भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय डा. हेमराज शर्मा, रोजिना प्रधान राई, सचिव राधिका (टीका) गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, आइसीसी युवा संयोजक रोशन थापा, संस्थापक नेता रामप्रताप थापा, सल्लाहकार चिरन्जीबी ढकाल, दिनेश पोखरेल, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी,संघका सिइओ राजेन्द्र कुमार राउत,सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री