लन्डन । गैर आवासीय नेपाल संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष डा. शेष घलेले संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न अपिल गर्नुभएको छ ।
संयोजक डा घलेले शुक्रबार अपिल जारी गर्नुहुँदै एनआरएनएको एकता महाधिवेशन नजिक देखिएको विवादलाई एनआरएनएका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु र उच्चस्तरीय समितिका सबै एक ठाउँमा बसेर समाधानको निकाल्नुपर्नेमा जोड दिनुभएको हो ।
‘विगतमा कसले के गयो त्यो कुरा अहिले छाडौं । एनआरएनएका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु र उच्चस्तरीय समितिका सबै १३ जना एक ठाउँमा बसेर छलफल गरी निकास निकाली अहिलेको सन्दर्भमा सर्वोच्च अदालतको परमादेशअनुसार उच्चस्तरीय समितिले तोकेको मितिमा नै महाधिवेशन आयोजना गर्नु एकताको सूत्र हो,’ अपिलमा लेखिएको छ, ‘म एक पक्षको मात्रै जितको कामना गर्ने व्यक्ति होइन । हिजो पनि संघको अध्यक्ष हुँदा सबैलाई समेटेर सहकार्य गरेर हिडेको हुँ । त्यसैले एकै थलोमा भेला भएर, खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न पनि म सबै अपिल गर्दछु ।’
एनआरएनएका अध्यक्ष डा बद्री केसी पक्षले विधानविपरीत घले नेतृत्वको समितिले महाधिवेशन गर्न लागेको आरोप लगाइरहेको बेला उहाँले वैधानिकताको बारेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । ‘सम्मानित सर्वोच्च अदालतको परमादेश, एनआरएनएको विधानको मर्म र उच्चस्तरीय समितिद्वारा पारित कार्यविधिको आधारमा हामीले एकताको महाधिवेशन आयोजना गर्न गइरहेका छौं । हाम्रा बैठकहरुमा नेपाल सरकारका प्रतिनिधिहरु पनि सहभागी भै रहनु भएको छ । त्यसैले वैधानिकताको बारेमा कुनै शंका छैन ।’
उहाँले गैर आवासीय नेपाली नागरिकता, लगानी प्रवर्द्धनजस्ता मुद्दाहरूमा नेपाल सरकारसँग दहो वार्ता गर्न पनि आफूहरु फुटेर हैन जुटेर अगाडि बढ्नु पर्ने अवस्था रहेको औंल्याउनुभएको छ । सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदैव सहमति र सहकार्यमा जोड दिँदै आएको उल्लेख गर्दै उहाँले उच्चस्तरीय समितिको संयोजकका नाताले आफूले निरन्तर छलफल र संवादमार्फत नै सबै कुराको निकास निकाल्नु पर्दछ भन्ने मान्यता राख्दै आएको बताउनुभएको छ ।
उहाँले एकता महाधिवेशनका लागि संसारभरिबाट प्रतिनिधिहरु आइरहेको, निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा महाधिवेशन रोक्न खोज्नु उपयुक्त नभएको बताउनुभएको छ । ‘अहिले गैर आवासीय नेपाली संघ एक गम्भीर मोडमा आइपुगेको छ । एकताको महाधिवेशनको लागि डेलिगेट्स बन्न संसार भरिका ३,२०० साथीहरुले आवेदन दिइ सक्नु भएको छ। छुट्टी मिलाएर महँगो टिकट काटेर कतिपय साथीहरु नेपाल आइसक्नु भएको छ वा आउने क्रममा हुनुहुन्छ । निर्वाचन कार्यतालिका पनि प्रकाशित भइसकेको छ । यस्तो अवस्थामा महाधिवेशन रोक्न खोज्नु वा कुनै पनि किसिमको भ्रम छर्न खोज्नु उपयुक्त होइन,’ अपिलमा छ ।