काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको हिमाली क्षेत्रका सरोकारहरूलाई विश्वसामु पुर्याउने पहलस्वरूप आगामी सगरमाथा संवादमा बेलायती वातावरणमन्त्रीलाई सहभागी गराउने प्रयास भइरहेको बताउनुभएको छ । कञ्चनजंगा हिमाल आरोहणको ७० औं वार्षिकोत्सव मनाउने क्रममा दूतावासले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले सगरमाथा संवादमा बेलायतबाट वातावरणमन्त्रीलाई नेपाल ल्याउने तयारी रहेको बताउनुभएको हो ।
‘हामी यस कार्यक्रमका लागि बेलायतबाट वातावरणमन्त्रीलाई यहाँ ल्याउने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘उहाँ यहाँ आएपछि उहाँमार्फत के पहल गर्ने भन्नेबारे अहिले छलफल भइरहेको छ ।’ सगरमाथा संवादको मिति नजिकिँदै गर्दा बेलायत र नेपालबीच जलवायु, जैविक विविधता संरक्षण र दिगो हिमाली व्यवस्थापनका सवालमा सहकार्य गहिरिँदै गएको फेनको भनाइ थियो ।
सरकारले २०२५ मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्न लागेको छ । यसमा सहभागी हुन नेपाल पर्यटन बोर्डले पनि विश्व नेतृत्व र विज्ञहरूलाई अनुरोध गरेको छ ।