गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ

लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार २६ अप्रिल २०२५ मा आशफोर्डस्थित सगरमाथा गोर्खा/नेपाली कम्युनिटी हलमा सम्पन्न १७औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उहाँ यसअघि प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ममता गुरुङ, द्वितीय उपाध्यक्षमा तोरण गुरुङ, महासचिवमा पवित्र गुरुङ, सचिवमा बसन्त गुरुङ, सह–सचिवमा कुमार गुरुङ, कोषाध्यक्षमा मानबहादुर गुरुङ, सह–कोषाध्यक्षमा सन्तोष गुरुङ, सांस्कृतिक संयोजकमा उमादेवी गुरुङ, सांस्कृतिक सह–संयोजकमा निर्मला गुरुङ, महिला संयोजकमा इशु गुरुङ, महिला सह–संयोजकमा हीरा गुरुङ, मिडिया तथा वेबसाइट संयोजकमा होम गुरुङ, सहायक मिडिया तथा वेबमास्टरमा रोशन गुरुङ, खेलकुद संयोजकमा सन्तोष गुरुङ, खाना तथा जलपान व्यवस्थापकमा नरेन्द्र गुरुङ र विकास (बिनु) गुरुङ, ज्येष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ र युवा संयोजकमा प्रेरणा गुरुङ चयन हुनुभएको छ । रिक्त पदहरूमा नवगठित कार्यसमितिको बैठकले मनोनयन गर्ने छ।

कार्यक्रमको पहिलो चरणमा समाजका अध्यक्ष डोलबहादुर गुरुङ र समाजका सबैभन्दा ज्येष्ठ नागरिक देवनारायण गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी साधारणसभाको औपचारिक उद्घाटन गर्नुभएको थियो । त्यसपछि प्रथम उपाध्यक्ष गोलमान गुरुङले सभामा स्वागत मन्तव्य राख्नुभयो । महासचिव तोरण गुरुङले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी प्रस्तुत गर्दै सभा सञ्चालन गर्नुभयो ।

साधारणसभाको पहिलो चरणमा कोषाध्यक्ष भिष्मा गुरुङले समाजको आर्थिक प्रतिवेदन, कार्यसमितिका पदाधिकारीहरूले आ-आफ्नो प्रतिवेदन र महासचिव तोरण गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यसमितिको प्रतिवेदन प्रस्तुतिपछि मुख्य एजेन्डाका विषयहरूमा सदस्यहरूले संस्थाको सर्वोपरी हित, पारदर्शिता, हालसम्मको प्रगति र हुँदै गरेका गतिविधिहरूप्रति खुशी व्यक्त गर्दै रचनात्मक सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।

पहिलो चरणको अन्त्यमा अध्यक्ष डोलबहादुर गुरुङले धन्यवाद मन्तव्य राख्दै आठौं कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गर्नुभयो । समाजको नवौं कार्यसमिति चयनका लागि दोस्रो चरणमा निर्वाचन समितिले औपचारिक कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन समितिका प्रमुख राजदेवी गुरुङ, सचिव शेरबहादुर गुरुङ र सदस्य बलराम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको घोषणा गरिएको थियो ।

नयाँ कार्यसमिति घोषणापश्चात् निर्वाचन समितिका प्रमुख राजदेवी गुरुङले सहभागी सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचन सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित कार्यसमितिका सदस्यहरूले नयाँ जिम्मेवारीको शपथ लिनुभएको थियो ।

अन्त्यमा नवनिर्वाचित अध्यक्ष गोलमान गुरुङले आफूलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरिएकोमा खुशी व्यक्त गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।यस यस अघि गुरुङ सोसाइटी केन्ट यूकेलाई ८ जना अध्यक्षहरूले नेतृत्व गरिसक्नुभएको छ ।

यस्तो छ गोलमान गुरुङको परिचय ?

गण्डकी प्रदेश, कास्की जिल्लाको रमणीय गाउँ धम्पुसमा जन्मिनुभएका गोलमान गुरुङ पूर्व ब्रिटिश गोर्खा सैनिक, दक्ष ड्राइभिङ प्रशिक्षक तथा समर्पित समाजसेवी हुनुहुन्छ । हाल उहाँ बेलायतको आशफोर्डमा परिवारसँग बसोबास गर्दै आउनुभएको छ।

सन् १९९२ मा ब्रिटिश गोर्खा सैनिकमा भर्ती भई २२ वर्ष सेवा पूरा गरी उहाँ सन् २०१४ मा अवकाश लिनु भयो । अवकाशपछि फुर्सदको समयमा उहाँले समाजसेवामा समर्पण गर्नु भयो । उहाँले सन् २०१७ र २०१८ मा बेलायतभरिका उत्कृष्ट ड्राइभिङ प्रशिक्षकहरूको प्रतिस्पर्धामा LGV Instructor of the Year अवार्डका लागि दुई पटक फाइनलिस्ट बन्नु भयो। यो उपलब्धि उहाँको दशकौंको अनुभव, कडा परिश्रम र निरन्तर योगदानप्रति दिइएको उच्च सम्मान र एक गौरवपूर्ण उपलब्धि हो ।

सामाजिक क्षेत्रमा पनि उहाँको योगदान निकै गहिरो छ। उहाँले गुरुङ सोसाइटी केन्ट यूकेको महासचिव (दुई कार्यकाल) अनि प्रथम उपाध्यक्ष, धम्पुस पोखरी घोताने परिवार यूकेको निवर्तमान अध्यक्ष र हाल धम्पुस परिवार यूकेको महासचिव (दोस्रो कार्यकाल)को रूपमा सक्रिय भूमिका निर्वाह गरिरहनु भएको छ।

त्यसैगरी सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड केन्ट, मञ्जुश्री माने मोन्लोम तमू आमा समूह आशफोर्ड केन्ट र बुद्धिस्ट कम्युनिटी सेन्टर केन्टमा पनि उहाँ निरन्तर आबद्ध हुनुहुन्छ। साथै, अन्य थुप्रै सामाजिक संघ–संस्थाहरूमा पनि उहाँ सक्रियताका साथ निरन्तर रूपमा संलग्न रहनु भएको छ।

त्यसैगरी नेपाल–वेल्सबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन स्थापना गरिएको धम्पुस–ब्रेकन ट्विनिङ एशोसिएसनमा उहाँको अग्रणी भूमिका रहँदै आएको छ। यस पहलमार्फत उहाँले दुई देशबीचको मित्रता र सांस्कृतिक आदानप्रदानलाई जीवन्त राख्न उल्लेखनीय योगदान पुर्‍याउनु भएको छ।

गोलमान गुरुङ लामो समयदेखि सामाजिक सेवामा समर्पित, अनुशासित र प्रेरणादायी नेतृत्वकर्ता हुनुहुन्छ । गुरुङ सोसाइटी केन्ट यूकेको नेतृत्वमा उहाँको दृष्टिकोण र अनुभवले समाजलाई अझ उचाइ र प्रगतिको बाटोमा लैजाने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री