काठमाडौँ, २३ असार । सरकारले काठमाडौँस्थित मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउने भएको छ ।
राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्मा सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्ष २०७२÷७३ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
त्यस्तै, क्रिकेटको विकास तथा विस्तारका लागि सरकारले विभिन्न आठ स्थानमा क्रिकेट मैदान निर्माण गर्नुका साथै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरवृद्वि गर्ने भएको छ ।
तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्ष्यित गरी काठमाडौँमा पाँच हजार दर्शक क्षमता भएको अन्तर्राष्ट्रियस्तरको कभर्डहल र नयाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण कार्य सुरु गर्ने सरकारको योजना छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रको विकासका लागि ‘एक निर्वाचन क्षेत्र एक खेल मैदान’ कार्यक्रमलाई मूर्तरूप दिँदै निर्माण कार्यलाई निरन्तरता दिने बताइएको थियो ।
त्यसैगरी, विद्यालयस्तरमा सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समावेश हुने खेल सङ्ख्यामा थप गरी बढीभन्दा बढी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउँदै लगिने भएको राससले जनाएको छ ।