इस्लामावाद, ११ साउन । पाकिस्तानमा आइतबारदेखि निरन्तर रहेको वर्षा र त्यसका कारण आएको बाढीमा परी कम्तीमा पनि ५१ जनाको ज्यान गएको समाचार छ ।
त्यसैगरी सो बाढीमा परी त्यहाँका साढे दुई लाख भन्दा बढी नागरिक विस्थापित भएको समाचारमा जनाइएको छ । पाकिस्तानमा गएको १२ दिनदेखि व्यापक मात्रामा बाढी आएको छ । सो बाढीमा परी अरु कयौँ नागरिक हराइरहेका पनि समाचारमा जनाइएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार वर्षाको क्रम रोकिएको छैन र थप क्षति हुनसक्ने भन्दै वातावरण पनि निकै त्रासपूर्ण रहेको जनाइएको छ ।
सो निकायका प्रवक्ता रीमा जुबेरीले सो बाढीका कारण पाकिस्तानका विभिन्न क्षेत्रका करिब एक हजार ६४८ घर बगाएको छ ।
त्यसैगरी सो बाढीले कयौँ गाउँलाई नराम्ररी प्रभावित पारेको छ भने बाढीबाट प्रभावित हुनेको सङ्ख्या प्रतिदिन बढ्दो क्रममा रहेको जनाइएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वा प्रान्तको चित्रल जिल्ला सबैभन्दा बढी मात्रामा प्रभावित रहेको छ ।
सो जिल्लामा मात्र बाढीबाट २६ जनाको ज्यान गएको छ । साथै उक्त जिल्लाका तीनसय ५० घर पनि बाढीले बगाएको छ ।
सो जिल्लाका कम्तीमा पनि ४० वटा पुल र कयौँ बाटो बगाएको छ । त्यहाँको स्थानीय पूर्वाधार पनि बाढीले बगाएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र वर्षेनी बाढीको चपेटामा पर्ने गरेको छ । यस पटक पनि बाढीको प्रकोपको खतरा रहेको बताइन्छ ।