बैंकक (थाइल्यान्ड), ३२ साउन । थाइल्यान्डको बैंककमा सोमबार साँझ बम विस्फोटन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटनमा परी १५ जनाको मृत्यु भइसकेको छ भने १२० जना भन्दा बढि गम्भीर घाइते भएको समाचार छ । विस्फोटनका कारण मृत्यु हुनेको सङ्ख्या अझै बढ्नसक्ने पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समय करिब ७ बजेतिर रातचप्रासनको एरावान धार्मिकस्थल नजिकै भएको विस्फोटनमा १५ जनाको मृत्यु भएको र केही घाइते भएको प्रहरी प्रवक्ता प्राउत थावानसिरीले बताए । उक्त स्थानमा अर्को एक बम पनि देखिएको प्राउथले जानकारी दिए ।
घटनामा विदेशी पर्यटकसमेत घाइते भएको एक प्रत्यक्षदर्शीले बताए । विस्फोटनका कारण ४५ सवारी साधनमा क्षतिसमेत पुगेको छ ।
घटनास्थललाई प्रहरीले घेरा हाली अनुसन्धान अगाडि बढाएको छ ।
बम मोटरसाइकलमा लुकाई यहाँ ल्याई विस्फोट गराएको प्रहरी अधिकारीले बताए ।