सुन्नु होला दिदीबहिनी सुन्नु होला दाजुभाई ।
विनाशकारी भूकम्पको बयान बरिलै ।।
साल थियो ७२ बैशाखको महिना ।
हल्लियो पृथ्वी नेपाल भूमिमा ।।
१२ गते दिनको थियो १२ बजे हुंदो हो ।
हल्लाको त एकैछिन् नासै भैगयो ।।
हल्ला खल्ला मच्चियो खवरमा नी आइहाल्यो ।
एैया पनि भन्न नपाई परान गइहाल्यो ।।
सिन्धुपाल्चोक केन्द्र बिन्दू काठमाण्डु नि हल्लियो ।
गोरखा धादिंग नुवाकोट सबै थर्कियो ।।
एकै पटक कहां हो र घरिघरि आइरह्यो ।
घर गोठ एकैसाथमा खत्तम भइगयो ।।
मर्ने संख्या नाघिहाल्यो दश हजार काटेर ।
लाश राख्नलाई ठाउं छैन जमिन फाटेर ।।
कत्ति सारो निष्ठुरी कत्ति छल गरेको ।
लाश जलाउन आर्यघाटमा पालो कुरेको ।।
कत्तिलाई त निकाले जमिनमुनी खनेर ।
कत्ति त्यसै मरे घरले पुरेर ।।
दुरनिनी जान नपाई सिन्दुर तिनको पुछियो ।
बच्ने आधार के हो तिन्को सबै लुटियो ।।
श्रीमान् र श्रीमतीको एकै चिहान भयो नि ।
घरमा भने बालबच्चा बेहाल परे नि ।।
लेखाजोखा केही छैन अंगभंग हुनेको ।
बस्नेलाई नि घर छैन तिनीहरुको ।।
खाउं भने अन्न छैन बसुं भने घर छैन ।
रुनलाई नि कत्ति रुने आंसु झर्दैन ।।
सम्झिंदा नि आउंछ यो मन भक्काने फाटेर ।
सहनुनै पर्ने रहिछ कर्मै सम्झेर ।।
मर्ने त मरि गए बांच्नेलाई त दिउं आधार
र, अब केहि सोच नेपाल सरकार…