काठमाडौँ, १ असोज । एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक किर्गिस्तानलाई ४–२ पराजित गरेको छ ।
किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सम्पन्न खेलमा किर्गिस्तानले ३० औँ मिनेटमा पहिलो गोल गरेको थियो । लगत्तै दुई मिनेटपछि फेनाल्टीमार्फत गोल गरेको थियो । नेपाली डिफेन्डरले डिबक्समा फल गरेपछि किर्गिस्तानले पेनाल्टी पाएको थियो ।
दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै चार गोल गरेको थियो । नेपालका लागि ५८ औँ मिनेटमा मनिस कार्कीले पहिलो गोल फर्काएका थिए । त्यसपछि उत्कृष्ट खेल प्रदर्शन गर्दै रेजिन सुब्बाले ६९ औँ र ७३ औँ मिनेटमा दुई तथा दिनेश हेम्जनले खेलको अन्तिम मिनेटमा थप एक गोल गर्दै नेपाललाई विजयी गराएका थिए ।
उक्त प्रतियोगिताको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले समूहमा सबैभन्दा बलियो मानिएको टोली जोर्डनलाई समेत पराजित गरेको थियो । बुधबार भएको खेलमा नेपालले जोर्डनलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल नेपाली टोली आज पुनः सोही प्रदर्शनलाई निरन्तरता दिएपछि आयोजक किर्गिस्तानसँग स्तब्ध पार्न सफल भयो ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसहित आयोजक किर्गिस्तान, ओमन र जोर्डन छन् ।
छनोटको पहिलो खेलमा बुधबार नेपालले जोर्डनलाई २–१ ले हराएको थियो । सो खेलमा पनि दुवै गोल रेजिन सुब्बाले गरेका थिए । नेपाल दुई खेलमा दुवै जितका साथ महत्वपूर्ण ६ अङ्कसहित समूहको शीर्ष स्थानमा स्थानमा छ ।
आयोजक किर्गिस्तान भने बुधबार ओमानसँग २–० ले पराजित भएको थियो । नेपालले आइतबार ओमानको सामना गर्नेछ । प्रतियोगितामा छनोटको सम्भावनालाई बलियो बनाउन नेपालले आजको खेल जित्नै पर्ने दबाब थियो ।
एएफसी यु–१६ को समूह चरणमा कुल ११ समूह छन् र त्यसबाट सबै समूह विजेता र चार उपबिजेता गरी १४ देश छनोट हुनेछन् । आयोजक भारत र अघिल्लो संस्करणको बिजेता उत्तर कोरिया भने प्रतियोगिताका लागि स्वतः छनोट भइसकेका छन् ।