यसैबीच संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७०आँै वर्षगाँठ र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेको अवसरमा उपप्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसहितको प्रतिनिधि मण्डलले यस महासभामा भाग लिएको हो ।
महासभामा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले यही असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
न्युयोर्क आएको प्रतिनिधि मण्डलले इसाइ धर्म गुरु पोप फ्रान्सीसले सम्बोधन गरेपछि आजको कार्यक्रम सुरु भएको हो । आजको कार्यक्रममा सन् २०१५ पछिको सहस्राब्दी लक्ष्यलाई महासभाले ग्रहण गर्नेछ ।
महासभाकै क्रममा अमेरिकी राष्ट्रपति बाराक ओवामा र राष्ट्र सङ्घका महासचिव वान कि–मुनले आयोजना गर्ने ‘विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुक सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलन’मा तथा ‘सन् २०१५ पछिको विकास रूपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि नेपालको सहभागिता रहनेछ ।
त्यस्तै चीनका राष्ट्रपति सि जिन पिङ र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणः कार्यान्वयनमा प्रतिबद्धता’सम्बन्धी विश्वका नेतासँगको बैठकमा नेपालका तर्फबाट सहभागिता हुने बताइएको छ । महासभाका क्रममा न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीको बैठक पनि आयोजना हुनेछ ।
संयुक्त राष्ट्रसङ्घमा विश्वका १९३ मुलुक सदस्य रहेका छन् भने दुई मुलुक होलिसी भ्याटिकन सिटी र प्यालेस्टाइन स्टेटले पर्यवेक्षकको मान्यता पाएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घमा सन् १९५५ को डिसेम्बर १४ मा सदस्य बनेको हो ।