पत्रकारिता किन र के का लागि ?

Naresh SK 1

पत्रकारितामा प्रचलित एउटा भनाइ छ, ‘सरकार बिनाको राज्यको कल्पना गर्न सकिन्छ तर पत्रकारिता बिनाको राज्यको कल्पना पनि सकिँदैन’ । कुनै पनि समाज र मुलुकमा पत्रकारिता कति अपरिहार्य छ भन्ने दर्शाउन यति एउटा भनाइ काफी छ ।

रह्यो बेलायतस्थित नेपाली समाजको कुरा । सन् ६० को दशकदेखि नेपालीहरु बेलायतमा स्थायी बसोबासका लागि भित्रिने क्रमको श्रीगणेश भयो । त्यसयता आधादशकको अन्तरालमा यहाँ नेपालीहरुको आवादीले अहिले एक लाख नाघेको अनुमान छ । तैपनि नेपालीको आधिकारिक आँकडा त ६० हजार २०२ नै हो जो सन् २०११ को जनगणनाले सार्वजनिक गरेको छ ।

युकेमा नेपालीहरुको बसोबास रोजगारीका लागि केही वर्ष अरु देश गएजस्तो अल्पकालिन होइन । आप्रवासीसम्बन्धी बेलायती प्रावधान र गोरखाहरुका लागि लागू कानुनी व्यवस्थाका कारण यहाँ नेपालीहरुको बसाई दीर्घकालिन हुने निश्चित छ । यहाँ बसोबासका लागि हरेक दिन नयाँ नेपाली भित्रिँदै छन् । नयाँ जन्मिँदा छन् । बढ्दो जनसंख्यासँगै नेपाली संघ, संस्था पनि थपिँदो छ । अनि चुलिँदो छ नेपाली गतिविधि, व्यापार, व्यवसाय, उन्नति र प्रसिद्धि पनि  ।

यसरी यहाँ बस्दै आएका नेपाली समुदायलाई पत्रपत्रिका, टेलिभिजन, रेडियो चाहिन्छ कि चाहिँदैन ? नेपालमै आप्mनो उमेरको गतिशील भाग बिताएको यो पुस्ताको तृष्णा बेलायती मूलप्रवाहका सञ्चारमाध्यमबाट उपलब्ध हुने सामग्रीले  मेट्न सक्छ कि सक्दैन ? परोपकारका लागि निस्वार्थ खुलेका नेपाली संस्थाहरुको गतिविधि के बेलायती मिडियाले समेट्लान् ? भर्खर बामे सर्दै गरेका नेपाली व्यवसायीहरुको उद्यमशीलतालाई यहाँका सञ्चारमाध्यमले सघाउलान् ? जवाफ नकारात्मक छ ।

डायस्पोरा बारेका अध्ययनहरुले साबित गरेका छन्– विदेशिएको अघिल्लो पुस्ताले आप्mनो भाषाभेष, सँस्कृति, पहिचान त्यागेर नयाँ परिवेशमा समाहित भए पनि नयाँ पुस्ताले आफ्नो उत्पति थलो, भाषा, सँस्कृति, पहिचान खोज्छन् । अग्रजहरुले कसरी आफ्नो अस्तित्व नामेट पार्न सके होलान् भनेर आश्चर्य मान्छन् र आक्रोश पनि पोख्छन् । त्यसैले ती अध्ययनहरुबाट पाठ सिक्दै यदि अहिले सानो मिहिनेतले आप्mनोपन जोगाउन सक्यौँ भने भावी पुस्ताले त्यसको खोजीमा भौँतारिनु पर्दैन । पुरानो पुस्तालाई धिक्कार्नु पनि पर्दैन ।

बेलायतमा नेपाली पत्रकारिताको अपरिहार्यता सिद्ध गर्न अरु थुप्रै तर्कहरु दिन सकिन्छ । एउटा समाजका लागि आधारभूत तत्वहरुमध्ये पत्रकारिता अभिन्न अवयव हो । हो, पत्रकारिताले प्रत्यक्षतः समाजका भत्केका बाटाघाटा टाल्दैन । चर्केका सार्वजनिक सम्पत्तिहरु जोड्दैन । अभावको भाँडोमा सीधै माना चामल पनि भर्दैन । तर पत्रकारिताले बाटो बनाउने निकाय, बाटो समयमा नबनाउने ठेकेदार, अलिछिनमै भत्किने कच्चा गुणस्तरको बाटो बनाउने निर्माणकर्तालाई जवाफदेही बनाउँछ । अभावको पूर्ति गर्ने उपाय र साधनस्रोतको पारदर्शी वितरण भयो भएन हिसाब खोज्छ । मानिसलाई बाँच्नका लागि हावा र पानीको आवश्यकता भएजस्तै अत्यावश्यक छ सूचना पनि । पत्रकारिताले सूचनाको आमोदप्रमोद गर्छ । समाजलाई सूचित गर्छ । मनोरञ्जन दिन्छ । राम्रो काममा लाग्न उत्प्रेरणा गर्छ ।

यही सामाजिक जिम्मेवारीलाई ध्यानमा राखी युकेमा केही विवेकशील नेपाली व्यवसायीहरुले विभिन्न सञ्चार प्रतिष्ठानमा लगानी गरेका छन् । पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाइन न्युज पोर्टलहरु खोलेका छन् । आम मानिसमा मिडिया चलाएर पैसा कमाएको भान परेको हुनसक्ला तर युकेका नेपाली मिडियाले नाफा होइन बरु घाटा खाएर समुदायको सेवा गरिहेका छन् ।

सामाजिक जिम्मेवारी भए पनि पत्रकारिता व्यवसाय हो । नेपाली मिडिया चलाउन नेपाल वा बेलायत सरकारबाट अनुदान आउँदैन । समुदाय भित्रैका व्यवसायीबाट आउने विज्ञापन र ग्राहक शुल्क मात्रै हो नेपाली मिडियाको आम्दानीको स्रोत । यसरी आर्जित सीमित रकमबाट आप्mनो लागत खर्च र  पत्रकारलाई पाल्नपर्ने हुन्छ । त्यसैले नेपाली मिडियालाई युकेमा बस्ने नेपालीले माया नगरे कसले गर्छ ? नेपाली मिडिया भोको छ कि अघाएको छ ? नेपाली पत्रकार आधापेट छन् कि खालीपेट छन् नेपाली समुदायले विचार गर्नैपर्छ ।

मिडियाका लागि विश्वमै स्वर्ग मानिने युकेमा अर्बौँ लगानीमा चलिरहेका मिडियाको सामुन्ने नेपाली मिडिया प्रस्तुति, विषयवस्तुको कभरेज, प्राविधिक क्षमता लगायत सबैमा पुड्को भएकाले कमजोरी देखिनु स्वाभाविक नै हो । तर पत्रकारिताको व्यावसायिक आचारसंहिता ठूलो होस् वा सानो सबै मिडियामा एउटै हुन्छ । पत्रकारले प्रवाह गर्ने सूचनामा शुद्धता अकाट्य छ । पत्रकार ध्रुवहरि अधिकारीका शब्दमा मानिस स्वस्थ्य हुन शुद्ध हावा, पानी चाहिएजस्तै सूचना शुद्ध हुन जरुरी छ । त्यसैले नेपाल पत्रकार महासंघ, युके गठन भएको पनि यहाँ कार्यरत नेपाली पत्रकारहरुलाई संगठित गरी उनीहरुको ज्ञान, सीप, क्षमता अभिवृद्धि गर्नकै लागि हो । यहाँको समाजसित पत्रकारिताको बारेमा छलफल गर्दै नेपाली मिडियालाई बलियो बनाउने र क्षमतावान पूर्णकालिन पत्रकारहरु उत्पादन गर्न सक्नु हाम्रो चुनौती हो । विकसित देशको पत्रकारिताको शिक्षण, प्रशिक्षण र अभ्यासबाट सिक्दै सिंगो नेपाली पत्रकारिता जगतलाई नै मार्गदर्शन गर्नसके झनै उत्तम हुने छ । त्यसैले यसका लागि सैद्धान्तिक रुपमा लैस भएको र व्यावहारिकरुपमा खारिएको नेतृत्व जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री