काठमाडौँ, २५ पुस । विसं २०७० जेठ ४ गते सुरु भएको ‘वाग्मती सफाइ अभियान’ आज १३९औँ हप्तामा पुग्दै गर्दा उता कञ्चन पानी भएको वाग्मती नदीको कल्पना गरेर बनाइएको चलचित्र ‘वाग्मती’को शुक्रबार प्रथम प्रदर्शन गरियो ।
चलचित्रको कथामा कञ्चन नामकी एक अबोध बालिकाले राखेको सफा वाग्मती हेर्ने चाहना छ र सो चाहनाले विस्तारै ‘नाटकीय मोड’ लिन्छ । अप्रत्यासित रुपमा गम्भीर रोगको सिकार हुन पुगेकी ती बालिकाको उपचार खर्च जुटाउन निम्न आयस्तरका बुबा (रवि)ले झेलेका सङ्घर्ष र दुःखलाई चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रको कथा रहस्यात्मक प्रारम्भबाट सुरु हुन्छ र ‘टु बि कन्टिन्यू’ भन्दै दोस्रो भागमा रहस्य खोल्ने आशयका साथ अन्त्य हुन्छ । चलचित्र अन्त्य हुँदासम्म पनि दर्शकले सकिएको मेसो पाउँदैनन् ।
लामो समयपछि महानायक राजेश हमाल र एक्सन नायक शिव श्रेष्ठलाई एउटै चलचित्रमा देख्न सकिने भए पनि त्यसमा रौनक छैन । एक अपराधीको पात्रमा उभिएका राजेश चलचित्रको अन्त्यसम्म आफ्नै पुरानै शैली र संवादमा छाउन सफल भएपनि शिवलाई असान्दर्भिक द्वन्द्वको एउटा दृश्यमा मात्र देख्न सकिन्छ । त्यस्तै, केकी अधिकारीलाई एउटा गीत र लास भएर लडेका दृश्यमा सीमित गरिएको छ ।
अर्कातिर बालिका कञ्चनको भूमिकामा देखिएकी कञ्चन ठकुरी तथा बालिकाका पिता ‘रवि’को भूमिकामा देखिएका रविशङ्कर घिमिरे करिब एक घन्टा ४० मिनेटको चलचित्र भर हावी देखिन्छन् । उनीहरुले धेरै दृश्यमा दर्शकलाई भावुक बनाउँछन् ।
दुई वर्षभन्दा बढी समयदेखि प्रयास गर्दा पनि वाग्मती नदी सफा नभए झैँ रु दुई करोडकै बजेटमा निर्माण भएको चलचित्रले पनि दर्शकको मन पूरै सफा गर्दैन । हुन त ‘वाग्मती’ दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेको महत्वाकाङ्क्षी चलचित्र हो । प्राविधिक रुपले अन्य नेपाली चलचित्रभन्दा सबल छ । चलचित्र पट्यारलाग्दो छैन । यसमा थोरै गीत छन् र केही हेर्नलायक द्वन्द्व देख्न सकिन्छ ।
वाग्मती लेखिएको टिपरमा यता र उता भौँतारिँदा भौतारिँदै चलचित्र सकिन्छ । प्रहरी र अपराधीबीच भएका केही दृश्य वास्तविक जीवनसँग मेल नखाने छन् । चलचित्रका धेरै दृश्य नाटकीय लाग्छन् ।
चलचित्रमा वाग्मती अभियानका केही दृश्य देखाइएको छ । पूर्व मुख्यसचिव लीलामणि पौडेल र गायिका आनी छोइङ डोल्मालाई समेत चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रको प्रथम प्रदर्शन उद्घाटनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भन्नुभयो – “वाग्मती नदीको भौतिक सरसफाइको विषयवस्तुमा बनेको यो चलचित्रले दर्शकको मानसिक सफाइ पनि गर्ने अपेक्षा गरेको छु ।”
यति हुँदाहुँदै पनि प्रथम प्रदर्शन हेर्न पुगेका अधिकांस दर्शकले चलचित्रले आफ्नो मनसँगै वाग्मती नदी ‘कञ्चन’ बनाउन नसकेको प्रतिक्रिया दिए । अपेक्षा गर्न सकिन्छ ‘वाग्मती–२’ले वाग्मती नदी र दर्शकको मन पूरै सफा गर्नेछ ।