नयाँ दिल्ली, १२ माघ । भारतको राजधानी नयाँ दिल्लीमा मङ्गलबार गणतन्त्र दिवस विशेष समारोहको आयोजना गरी मनाइएको छ ।
विशेष कार्यक्रमका साथै कडा सुरक्षा व्यवस्थाका साथ राजधानीमा सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
राजधानीको मध्य भू–भागमा रहेको राजपथमा यो कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा भारतीय र फ्रान्सेली सैनिकले संयुक्त सैन्य अभ्यास पनि गरेका थिए ।
भारतको स्वतन्त्रता दिवसको यस विशेष कार्यक्रमको विशेष अतिथिमा फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्ड हुनुहुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नुभएको हो ।
भारतको मुम्बईमा पनि सन् २००८ मा भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि १६६ जनाको हत्या गरिएको र गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा यस्तै आतङ्ककारी हमला भएको थियो ।
सो आतङ्ककारी हमलामा परी पेरिसमा १३० जना मारिएका थिए । सो आतङ्ककारी हमलाको विरोध गर्दै फ्रान्सप्रति ऐक्यवद्धता जनाउन राष्ट्रपति अल्याडलाई प्रमुख अतिथि बनाइएको हो ।
भारतमा पनि हालै पठानकोटको एक हवाई सुरक्षा केन्द्रमा यस्तै आतङ्ककारी हमला भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति अल्याण्डले आतङ्कवादका विरुद्धमा लड्न हालैमात्र ऐक्यबद्धता जनाएका छन् ।
उहाँहरुको सोमबार भएको द्विपक्षीय भेटवार्तामा आतङ्कवादका विरुद्धमा एक भएर लड्ने विषयमा सहमति भएको बताइएको छ ।
सो कार्यक्रममा भारतीय सेनाले विभिन्न कलाकौशल प्रदर्शन गरेका थिए । हजारौँ जना सर्वसधारणले सो कार्यक्रम हेरेका जनाइएको छ ।
उता भारतीय सुरक्षकार्मीहरुले त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारेका बताइएको छ । यसै समारोहलाई मध्यनजर गरी सुरक्षामा कडाई गराइएको हो ।