काठमाडौँ, ५ फागुन । काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालन भएका मनोरञ्जन कर नतिर्ने सिनेमा हललाई कारबाही गरिने भएको छ ।
महननगरभित्र रही सञ्चालित सिनेमा हलले मनोरञ्जन कर हालसम्म नतिरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको महानगरका राजस्व शाखा प्रमुख ध्रवकुमार काफ्लेले जानकारी दिनुभयो । कारबाही प्रक्रियाअन्तर्गत कर नतिर्ने हलको सुविधा कटौती गर्दै लगिने, मालपोत रोक्ने, बैंक खाता रोक्का गर्ने जस्ता छन् ।
हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका सिनेमा हल ११ वटा छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ भने पाँच वटा हल भाडाका रहेका छन् । एघार वटै सिनेमा हलले मनोरञ्जन कर नतिर्दा वार्षिक रु २५ लाख बक्यौता रहने गरेको छ ।
सिनेमा हलमा टिकट बिक्री हुने बित्तिकै प्रति टिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने नियम रहेको छ । महानगरले २०५६ सालदेखि सिनेमा हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको हो ।
मूल्य अभिवृद्धि कर लागू भएपछि मनोरञ्जन कर हटेको भन्दै हलले सो कर तिर्न नमानेको काफ्ले बताउनुहुन्छ । तर स्थानीय स्वायत्त शासन कर नियमावलीअनुसार मनोरञ्जन कर लिने व्यवस्था रहेकाले सो कर तिर्र्नु सञ्चालकको कर्तव्य हो ।