एथेन्स (ग्रिस), २७ फागुन । ग्रिसमा विगतका महिनाहरुमा जस्तै आगामी महिना पनि शरणार्थीको सङ्ख्या थप बढ्ने बताइएको छ ।
विशेषगरी बाल्कन राष्ट्रहरूले गरेको अवरोधपछि त्यहाँ यस्तो स्थिति आउने अनुमान गरिएको विज्ञहरुको भनाइ छ ।
आगामी महिनाको अन्त्यसम्म ती राष्ट्रहरुले गर्ने अवरोधका कारण नै यो सङ्ख्या करिब ५० देखि ७० हजार पुग्ने बताइएको हो ।
बुधबार प्रकाशित एक प्रतिवेदनमा भनिएको छ, आगामी महिनाको अन्त्यसम्ममा ग्रिसका कम्तीमा पनि ७० हजार शरणार्थी ग्रिसका विभिन्न टापुमा फस्नेछन् ।
बसाइसराई मामिलासम्बन्धीमन्त्री यानिस मौजालासले अहिले करिब २२ हजार आप्रवासी शरणार्थी ग्रिसमा रहेकोमा आगामी महिनामा यसमा तीन गुणा वृद्धिभई करिब ७० हजार मानिस शरणार्थीका रूपमा ग्रिसका विभिन्न टापुमा रहने छन् ।
सन् २०१५ शरणार्थी एवम् आप्रवासीका लागि एक समस्याको वर्ष भएर रहेको थियो । त्यस वर्ष विश्वका कैयौँ देशका लाखौँ लाख शरणार्थी विशेषतः युरोपेली क्षेत्रमा प्रवेश पाएका थिए ।
हालैका दिनमा मेसेडोनियाली सीमा अधिकारीले शरणार्थी प्रवेशमा कडाई गरी दैनिक ३०० मात्र मानिसलाई ग्रिस हुँदै मेसेडोनिया प्रवेश दिने नीति लिएका छन् ।
हालैका दिनहरुमा करिब छ हजार ५०० आप्रवासी ग्रिसको उत्तरी सीमास्थित आइडोमेनी शिविरमा बस्दै आएका हालै प्रकाशित एक प्रतिवेदनमा जनाइएको थियो ।
उक्त शिविरको क्षमता करिब एक हजार ५०० शरणार्थीका लागि मात्र भए पनि मेसेडोनियाले अफगान नागरिकलाई प्रवेशमा पूर्णतया अवरोध गर्न थालेको छ ।
त्यस क्षेत्रमा शरणार्थीका रुपमा प्रवेश दिने कामलाई निकै नै कडा बनाइएको छ । सिरियाली तथा इराकी नागरिकलाई पनि शरणार्थी पुष्टि हुने किसिमका कागजातसहित बलिया प्रमाण पेस गरेपछि मात्र प्रवेश दिने नीति लिएको छ ।
मेसेडोसिया बाहेकका ईयू सदस्य राष्ट्रहरू स्लोभेनिया, क्रोयसिया, सर्भियाले दैनिक ५८० शरणार्थीलाई मात्र आफ्नो देशमा प्रवेश दिने नीति लिएका छन् ।
यसै कारण पनि ती देशहरुको यो नीतिको भार ग्रिसमा पर्न गएका अधिकारीरुको भनाइ छ । यस विषयमा राष्ट्रसङ्घीय शरणार्थी नियोगले भने केही बताएको छैन ।