काठमाडौं, २३ साउन । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका आकाङ्क्षीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्न दिन पार्टी नेतृत्वसँग माग गरेका छन् ।
आजदेखि हुन लागेको सङ्घको ११औँ महाधिवेशनमा निर्वाचन नभई पार्टीले नयाँ कार्यसमितिको नामावली घोषणा गरेमा आफूहरुलाई मान्य नहुने उनीहरुले उद्घोष गरेका हुन् ।
यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्षका आकाङ्क्षी मनोजमणि आचार्यले आफूले हारे पनि निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।
नैनसिंह महरले नेविसङ्घ काँग्रेसका नेता उत्पादन गर्ने नर्सरी भएकाले निर्वाचनमा भिड्ने अवसर दिन नेताहरुसँग आग्रह गर्नुभयो ।
दीपक भट्टराईले काँग्रेसका नेताले नेविसङ्घ चलाउन खोजेमा विद्यार्थीले पार्टी चलाउने चेतावनी दिनुभयो ।
आनन्दराज त्रिपाठीले निर्वाचन लड्न नदिई मनोनयन गर्ने प्रवृत्तिको विरोध गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गर्नुभयो ।
क्षितिज भण्डारीले काँग्रेसका नेताहरुले मनोनीत समिति बनाएमा आफूसहितका अधिकांश कार्यकर्तालाई अमान्य हुने स्पष्ट पार्नुभयो ।
नीलकण्ठ रिजालले नेविसङ्घको महाधिवेशन यसपटक पनि नभएमा नेविसङ्घको अस्तित्व रहन नसक्ने टिप्पणी गर्नुभयो ।
कुन्दनराज काफ्लेले नेविसङ्घको पुरानो गौरवशाली प्रतिष्ठालाई पुर्नजीवित गर्न विधिसम्मत महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो ।
विनिता अधिकारीले मनोनीत कार्यसमिति बनाउने सोच नराख्न नेताहरुलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।
शुभराम बस्नेतले विगतमा आफूले पाएका सबै जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले निर्वाचनमार्फत सङ्घको नेतृत्व लिन चाहेको तर्क गर्नुभयो ।
रामप्रसाद अधिकारीले विद्यार्थी आन्दोलनमा निरन्तर खटिएकाले आफूलाई विद्यार्थीले छनोट गर्ने विश्वास व्यक्त गर्नुभयो ।
लक्ष्मण आचार्यले आफू नेताहरुको नजिक भएर पनि कहिल्यै कुनै पदमा मनोनीत हुन नचाही निर्वाचनमार्फत नेतृत्व लिन चाहेको बताउनुभयो ।
सरोज थापाले इमान्दारिता र नैतिकताको राजनीतिका लागि आफू उम्मेदवार हुन लागेको जानकारी दिनुभयो ।
पदमराज पन्तले नक्कली प्रतिनिधिहरु खारेज गरी सक्कली प्रतिनिधिमार्फत सक्कली नेतृत्व छान्ने वातावरण बनाउन निर्देशक समितिलाई आग्रह गर्नुभयो ।
रत्न कार्कीले लहडमा नलागी विवेक पुरयाएर नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गर्नुभयो ।
सङ्घको आजदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने ११औँ महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने भएकाले चुनावी सरगर्मी निकै बढेको छ । देशभरबाट महाधिवेशन प्रतिनिधिको काठमाडौँ आउनेक्रम चलिरहेको छ ।