काठमाडौंँ, २९ साउन । हाल अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गरिरहनुभएका नेपाली पत्रकार चिरञ्जीवीराज देवकोटालाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटनदूत नियुक्त गरेको छ ।
उहाँलाई अस्ट्रेलियाको भिक्टोरिया राज्यका लागि दुई वर्षका लागि अवैतनिक पर्यटनदूत नियुक्त गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालको पर्यटन विकासको कार्यलाई अस्ट्रेलियामा तीव्रता दिने उद्देश्यका साथ बोर्डले उहाँलाई पनि भिक्टोरिया राज्यका लागि दूतका रुपमा नियुक्त गरेको हो ।
उहाँलाई नेपाल पर्यटन बोर्डको प्रतिनिधिका रुपमा अस्ट्रेलियामा विभिन्न कार्यक्रममा सहभागी हुनाका साथै त्यहाँका पर्यटनसम्बन्धी निकायसँग समन्वय गरी नेपालमा अस्ट्रेलियाली पर्यटकको सङ्ख्या वृद्धि गर्नुपर्ने कार्यादेश तोकिएको छ ।
आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर देवकोटा हाल अस्ट्रेलियाबाट प्रसारण भइरहेको नेपाली भाषाको टेलिभिजन ‘एमएनटिभी’ प्रधानसम्पादक हुनुहुन्छ । उहाँ केही समयअघिसम्म नेपालको ‘न्युज २४’ टेलिभिजनको समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।