काठमाडौँ, १ भदौ । ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत पाँच हजार मिटर दौडमा नेपालका हरिकुमार रिमाल पहिलो चरणबाटै बाहिरिएका छन् ।
रियो दि जेनिरियोमा आज साँझ भएको खेलमा उनी उक्त स्पर्धाको पहिलो चरणबाट नै बाहिरिएका हुन् । नेपाल आर्मीका २८ वर्षीय धावक रिमालले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव ४२ सेकेण्डमा पूरा गरे । पच्चीस खेलाडीले भाग लिएको उक्त स्पर्धामा उनी २३ औँ स्थानमा रहे ।
उनले सोमालिया र सोलेमन आइसल्यान्डका खेलाडीलाई मात्र पछि पार्न सके । हरिको हिटमा इथियोपियाका हागोस गेब्रेह्वाइट १३ मिनेट २४ दशमलव ६५ सेकेण्ड समय खर्चदै पहिलो भए ।
सोही स्पर्धामा दश वर्षअघि राजेन्द्र भण्डारीले १४ मिनेट ०१ दशमलव १९ सेकेन्ड समय खर्चर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । रिमाल उक्त कीर्तिमान भङ्ग गर्ने उद्देश्य बोकेर रियो प्रवेश गरे भएपनि त्यो सपना भने पूरा हुन सकेन ।
बाह्रौ दक्षिण एसियाली खेलकुद सागमा हरिले सोही स्पर्धामा १४ मिनेट ३२।१८ सेकेन्डमा पूरा गर्दै कास्यपदक जितेका थिए ।