अङ्कारा, ६ भदौ । टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको प्रारम्भिक सूचना सार्वजनिक भएको छ । प्रहरीद्वारा नै सो सूचना सार्वजनिक भएपछि टर्किस् प्रहरीले सो बालकको पहिचान खोजिरहेका छ ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा सो विवाह समारोहमा बम हमला गर्ने आत्मघाती बालक रहेको भनी जानकारी दिनुभएको थियो ।
सो हत्याकाण्डपछि आइतबार स्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो बालक १२ देखि १४ वर्षसम्मको रहेको पाइएको जानकारी दिनुभएको थियो । तर उसको पहिचान भने खुलेको छैन ।
टर्किस् प्रहरीले पनि सो बम हमलाकारी बालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उसले त्यही बालकको खोजी गरिरहेको सोमबार जानकारी दिएको छ ।
सो बम हमला गरिएको नगर घाजियान्तेप हो र सो नगर सिरियाको सिमानामा पर्दछ । सिरियाको नजिक रहेको सो नगरमा आइएसले नै उसलाई बम हमला गराएको वा गर्न लगाएको पाइएको टर्की सरकारको भनाई छ ।
विस्फोटमा संलग्न आत्मघाती हमलाकारी रहेको र सो हमलामा आईएसको हात रहेको पनि उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघले सो हमला अत्यन्तै शक्तिशाली भएको भन्दै यसको अनुसन्धान आवश्यक मात्रामा गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
सो हमलामा परी मारिनेको सङ्ख्या ५१ पुगेको जानकारी टर्किस् प्रहरीले दिएको छ । प्रहरीले घाइतेको सङ्ख्या ६९ रहेको र १७ जना नराम्ररी घाइते भएको पनि बताएको छ ।
प्रहरीले सो बालकको डिएनए परीक्षण गरिरहेको जनाएको छ । डिएनए परीक्षण गरी सो परीक्षणका माध्यमबाट उसको पहिचान खुलाउने प्रयासमा प्रहरी रहेको छ ।
कतिपयले सो बालक सिरियाबाटै ल्याइएको हुनसक्ने जनाएका छन् । तर केहीले भने उक्त सहरमा नै आइएसले बम बनाउने काम गरिरहेकोले आत्मघातीहरुका रुपमा पनि टर्कीकै नागरिकलाई प्रयोग गरेको हुनसक्ने बताएका छन् ।