रोम (इटाली), १० भदौ । इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्याको २६७ छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शुक्रबार बिहान सो जानकारी दिएको छ ।
उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका अनुमान गरिएको छ । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए पनि अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
अमात्रिसमा मात्र २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको यहाँका मेयर सर्गीओ पिरोजीले बताएका छन् ।
इटालीको अमात्रिस गाउँको जनसङ्ख्या करिब २ हजार ५०० मात्र रहेको छ । भूकम्पले अति प्रभावित यस इलाकामा बढी क्षति भएको बताइएको छ ।
अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपत्ता रहेका अन्तराष्ट्रिय समाचार समितिहरुले हिजो जनाएका थिए । उनीहरु भूकम्पले ढालेको भग्नाबशेषभित्र परेका जनाइएको छ ।
बुधबार बिहान सवेरै ६.२ रिक्टर स्केलको भूकम्प गएको थियो । उद्वारकार्य जारी रहेको छ र हताहत हुने व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने पनि बताइएको छ ।
सो भूकम्पमा परी ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्धारमा खटिएका उद्धारकर्मीहरूले अझै पनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेका हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने बताएका छन् ।
इटालीका दुर्गम गाउँहरू उमरिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पुरयाएको बताइएको छ ।
इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।
चिनियाँ उद्वारकर्मी इटाली पुगे
यसैबीच चिनियाँ उद्वारकर्मीको एक समूह बिहीबार साँझ इटालीको भूकम्प प्रभावित इलाकामा पुगेको बताइएको छ ।
बिहीबार साँझ त्यहाँ पुगेको सो उद्वार टोलीले उद्धारकार्य सुरु गरिसकेको सरकारी स्रोतले जानकारी दिएको छ ।
पूर्वी चीनको जेजिआङ्ग प्रान्तको रम युनियन नामक उद्वार समूहको तर्फबाट गएको सो टोलीका तीन व्यक्ति तत्काल उद्धारकार्यमा लागेका प्रान्तीय नागरिक मामिला विभागले जानकारी दिएको छ ।
मध्य इटालीको पहाडी इलाकामा गएको ६.२ रिक्टर स्केलको भूकम्पमा परी कम्तीमा २६७ व्यक्तिको मृत्यु भएको छ । चीनको जेजिआङ्ग प्रान्तको रम युनियन नामक उद्धार समूहतर्फबाट गएको सो उद्धार समूहमा दुई जना चिकित्सकसहित १६ जना रहेका छन् ।