भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्नुहुँदै । तस्बिर ः हरि लामिछाने, रासस (नयाँ दिल्ली)
नयाँ दिल्ली, ३० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा आज दिल्लीस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको छ ।
उक्त रात्रिभोजमा भारत सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता एवम् कूटनीतिक नियोगका प्रमुखको सहभागिता थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुयाउने रहेको बताउँदै यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप विस्तार गरेको छ भन्नुभयो ।
नेपाल–भारत सम्बन्ध राजनीतिक, ऐतिहासिक, सांस्कृतिक एवम् जनस्तरमा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो – दुई देशबीचको यस्तो सम्बन्धले दुबै देशका जनताको भाग्य तथा आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने छ ।
उहाँले गत वर्षको भूकम्पमा भारत र भारतीय जनताले पुरयाएको सहयोग र सहानुभूतिप्रति आभार पनि व्यक्त गर्नुभयो ।