चितवन, १६ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा देशमा गम्भीर राजनीतिक विचलन भएको बताउनुभएको छ ।
नेका चितवनले आज यहाँ आयोजना गरेको ‘सम्पर्क डाइरेक्ट्री २०७२’ विमोचन एवम् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २००७ सालको परिवर्तन स्वीकार्न नसक्दा देश यो अवस्थामा आएको बताउनुभयो ।
अधिनायकवादले कुनै मुलुकको कल्याण गर्न नसकेको भन्दै उहाँले मुलुकको हितका लागि लोकतन्त्र नै आवश्यक भएको बताउनुभयो । काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गरेर नेपाललाई राजनीतिक स्थायित्व दिनुपर्ने उहाँले बताउनुभयो ।
संविधान कार्यान्वयनका विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी ओली र मधेसवादी दलका नेताहरुसँग आफूले निरन्तर कुरा गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन नभए काँग्रेस र एमालेको ‘नाक’ जान्छ ।” संविधान कार्यान्वयनमा नेताहरु गम्भीर नभएको उहाँको भनाइ थियो ।
स्थानीय निकाय ५६५ वटा बनाउने कुरा व्यावहारिक नहुने भन्दै उहाँले गाउँमा गाउँपालिका, सहरमा नगरपालिका र तिनीहरुबीचको समन्वय जिल्लाले गर्नुपर्ने बताउनुभयो ।
एक अर्को फरक प्रसङ्गमा उहाँले पार्टी पद्धति र परम्पराले चल्नुपर्नेमा सभापतिले एकल ढङ्गले सञ्चालन गरेकै कारण आफूले विरोध गर्नुपरेको बताउनुभयो ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान कार्यान्वयन काँग्रेसको दायित्व भएको भन्दै संविधान कार्यान्वयन नभएसम्म जनताको हित नहुने बताउनुभयो ।
नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा अधिकारीले गाउँदेखि केन्द्रसम्म काँग्रेस एकीकृत भए मात्रै अब हुने निर्वाचनमा सफलता हासिल गर्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा सांसद रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ र तोपमान सिंह गुरुङलगायतले बोल्नुभएको थियो ।