राष्ट्रपति विद्यादेवी भण्डारी, तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २५ असोज । बडादसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ ।
दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरुप अहिले राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहररुलामबद्ध भएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म कार्यक्रम जारी रहनेछ ।
यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो । रासस
प्रधानमन्त्रीको दसैँ
काठमाडौँ, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाउनुभएको छ ।
उहाँले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाउनुभएको उहाँका उपस्वकीय सचिव पूर्ण कार्कीले राससलाई जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाउनुभएन ।
सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाउनुभएको उहाँका सहयोगी भानु देउवाले बताउनुभयो । रासस