प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुहुँदै उपप्रधानमन्त्री विमलेन्द्र निधि । तस्बिर ः प्रदीपराज वन्त, रासस
गोवा (भारत), २९ असोज । भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल केहीबेर अघि यहाँ आइपुग्नुभएको छ ।
सम्मेलनमा भाग लिन आजै उहाँ नेपाल वायु सेवा निगमको जहाजबाट १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली हुँदै गोवा आइपुग्नुभएको हो ।
उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल तथा गोवामा भारतीय विदेश राज्यमन्त्री एमजे अकबर र नेपालका लागि भारतीय राजदूत रणजीत रायले स्वागत गर्नुभएको थियो ।
सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले आजै चिनियाँ राष्ट्रपति सि जिन पिङ र भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’लाई सम्बोधन गर्नुहुनेछ ।
सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने बताइएको छ ।