काठमाडौँ, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुने भएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध आज व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले राससलाई जानकारी दिनुभयो ।
संवैधानिक प्रावधानअनुसार महाअभियोग दर्ताका लागि आवश्यक पर्ने कम्तीमा एक चौथाई सांसदको सङ्ख्या पुरयाएर प्रस्ताव अघि बढाइएको र अरु सांसदको हस्ताक्षर थपिने प्रमुख सचेतक ढकालले बताउनुभयो ।
प्रमुख सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख विपक्षी दलका एमालेका सांसदको हस्ताक्षरमा महाअभियोगको प्रस्ताव अघि बढेको भनिए पनि माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले भने आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको बताउनुभयो ।
उहाँले संसद्बाट आज मात्रै महाअभियोग प्रस्ताव सिफारिस समिति गठन भएको र भोलि संसद्को बैठकपछि सिफारिस समितिको बैठक बस्ने जानकारीसमेत दिनुभयो ।
कार्की स्वदेश फिर्ता
प्रमुख आयुक्त कार्की आज साँझ स्वदेश फर्कनुभएको आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिए । संयोग भन्नुपर्छ उहाँ स्वदेश फर्केकै समयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का १५७ सांसदले हस्ताक्षर गरी आज व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएका छन् ।
हिजो मङ्गलबार सर्वाेच्चमा विचाराधीन रहेको प्रमुख आयुक्त कार्कीको मुद्दाको उहाँको घरमा सूचना टाँसगरी म्याद तामेल गरिएको थियो ।