फाइल तस्विर
काठमाडौँ, १३ कात्तिक । मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तीनबुँदे सम्झौताअनुरुप औपचारिक रुपमा वार्ता प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
गठबन्धनका नेताले आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँकै निवास बालुवाटारमा भेट गरी तीनबुँदे सम्झौताअनुरुप औपचारिक वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।
सम्झौतामा हस्ताक्षरकर्ता दलका शीर्ष नेताको उपस्थितिमा औपचारिक वार्ताका लागि आग्रह गरिएको गठबन्धनको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले नेतासँग व्यक्तिगत रुपमा अनौपचारिक संवाद गरिरहनु नै भएको छ तर सम्झौतामा हस्ताक्षरकर्ता स्वयम् बसेर औपचारिक वार्ताद्वारा संविधान संशोधनलगायतका मागलाई अघि बढाउनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरयौँ”– उहाँले भन्नुभयो ।
करिब अढाई महिनाअघि सरकार गठनका बेला प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धनका संयोजक उपेन्द्र यादवबीच तीनबुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । लामो समयसम्म आफूहरुसँग औपचारिक वार्ता नभएको भन्दै मोर्चाभित्र खटपट बढेको थियो ।
गठबन्धनको आग्रहपछि प्रधानमन्त्री दाहालले मागबारे भोलि आइतबारबाटै औपचारिक छलफल सुरु गर्ने र त्यसका लागि गठबन्धनका नेतालाई बालुवाटार बोलाउनुभएको सहअध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसैबीच गठबन्धनसँगको अनौपचारिक छलफलबारे सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चासहितको गठबन्धनका माग सम्बोधनबारे अनौपचारिक छलफल चलिरहेको जानकारी दिनुभयो ।
गठबन्धनले संविधान संशोधन प्रक्रिया छठसम्म कुर्ने र त्यतिबेलासम्म पनि काम नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।
गठबन्धनका माग सम्बोधनका लागि प्रधानमन्त्रीले दलीय परामर्शलाई तीव्रता दिनुभएको छ । केहीदिनअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि अनौपचारिक कुराकानी गर्नुभएको थियो ।
छलफलमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र गठबन्धनका तर्फबाट नेताहरु महन्थ ठाकुर, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो ।