विराटनगर, २४ कात्तिक । भारतले गएरातिदेखि आफ्ना पाँचसय, हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ ।
सीमावर्ती भारतीय जोगबनी बजारमा पाँचसय, हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजार सुनसान अवस्थामा पुगेको छ भने मोरङ र झापाका मनिचेन्जर(सटही) सञ्चालक प्रत्यक्ष मारमा परेका छन् ।
भारतीय नोटको कारोबारमा संलग्न मनिचेन्जर,अवैध कारोबार गर्नेहरु, भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्नेबीच यतिखेर खैलाबैला मच्चिएको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी मोरङ र झापामा भारतीय नोटको कारोबार हुने गर्छ । झापामा ३६ वटा र मोरङमा २४ वटा मनिचेन्जर सञ्चालनमा छन् । यस बाहेक, कतिपय व्यापारीले भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्ने गरेका छन् ।
सीमावर्ती क्षेत्रमा नेपाली बासिन्दालाई भारततर्फ आवतजावत गर्नका लागि जोहो गरेर राखेका भारु पाँचसय र हजारका नोटको चलनचल्तीमा रोक लागेपछि उनीहरु बिच्चलीमा परेका छन् ।
भारु पाँचसय, हजारका नोट आधा मूल्यमा सटही गर्न कतिपय नेपाली बाध्य भएका छन् । मोरङ उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालले यस निर्णयबाट नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनुहुन्छ । “भारु पाँचसय, हजारको नोटको कारणले तस्करी बढ्ने गरेको थियो, अब भन्सारको माध्यमबाट नै अधिकांश भारतीय सामान भित्रिने सम्भावना बढेकाले स्वभाविक रुपमा राजस्व सङ्कलनमा वृद्धि हुनेछ,” उहाँले भन्नुभयो ।
झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्मा जिल्लामा दैनिक एक करोड भारतीय रुपैयाँको कारोबार हुने गरेको बताउनुहुन्छ । अधिकांश व्यापारी वा मनिचेन्जरसँग ठूलो परिमाणमा त्यस्ता नोट मौज्दात रहेका उहाँको भनाइ छ ।
प्रतिबन्धको मारमा बिरामी
भीमदत्तनगर, २४ कात्तिक । भारतले मङ्गलबारको मध्यरातदेखि लागू हुने गरी भारु ५०० र एक हजारका नोट बजारमा चलाउन रोक लगाएपछि आज बिहानैदेखि त्यसको असर सिमान्त सहर भीमदत्तनगर र पश्चिमी नाका गड्डाचौकीमा परेको छ ।
यहाँबाट सीमावर्ती सहरमा उपचारका लागि जाने बिरामीदेखि भारतमा श्रम बेचेर घर फर्किरहेका नेपालीलाई भारु प्रतिबन्धको असरले छोएको छ । आज बिहान कार्यालय खुल्नासाथ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको यात्रु शाखादेखि छेउमै रहेको भागेश्र मनी चेञ्जरसम्म भारु ५०० र एक हजारको नोट प्रतिबन्धको असर देखिन्थ्यो ।
“भन्सारको यात्रु शाखामा अस्थायी पैठारीदेखि दैनिक उपभोग्य सामानको राजस्व बुझाउने काम ठप्प छ,” भन्सार यात्रु शाखाका नायब सुब्बा वीरबहादुर थापाले भन्नुभयो । त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष जङ्गबहादुर मल्ल भारुमा प्रतिबन्धपछिको अवस्थाका बारेमा सरकारले भारतसित कूटनीतिक रुपमा पहल गरेर व्यवस्थापनमा जुट्नुपर्ने बताउनुहुन्छ ।
लामो समयदेखि गड्डाचौकीमा मनीचेञ्जर सेन्टर सञ्चालन गर्दै आएका मल्ल बिहानैदेखि सेवाग्राही तनावमा रहेका बताउनुहुन्छ । “अरुबेला ८० प्रतिशत सेवाग्राही भारु नोट खोज्न आउँथे, आज ९५ प्रतिशत सेवाग्राही भारु दिएर नेपाली नोट मागिरहेका छन्” उहाँले भन्नुभयो ।
भारतका विभिन्न ठाउँमा रोजगारी गरेर फर्किरहेका नेपाली मजदुर प्रतिबन्धको बढी मारमा परेका छन् । “पहिले नेपाल–भारतबीच खुल्ला सीमा नाका भएका कारण रु २५ हजारसम्मको कारोबार गर्न खुकुलो थियो,” मल्लले भन्नुभयो– “श्रम बेचेरले फर्किरहेकालाई प्रतिबन्धले मार परेको छ ।” विभिन्न तवरबाट ४, ५ प्रतिशत दिएर भारु किनबेच गर्नेहरु प्रतिबन्धको मारमा परेका छन् ।
आफूसित रहेको भारु नोट भारत सरकारले दिएको अवधिमा साटिने वा के हुने भन्ने विषयमा पनि सीमावर्ती क्षेत्रका नेपाली चिन्तित बनेका छन् । त्यसका साथै नेपाली उपभोक्तामा बढी आश्रित हुने सीमावर्ती भारतीय बजार वनवासा, टनकपुर, खटिमालगायतका बजारमा पनि यसको प्रभाव देखिएको छ ।
भारतमा सामान किनमेलका लागि आवतजावत गर्नेको सङ्ख्यामा कमी आएको गड्डाचौकी सीमामा खटिएका एक प्रहरीले बताउनुभयो । कञ्चनपुरमै सबैभन्दा बढी स्थानीयस्तरमा समेत भारु नोटको कारोबार हुने महाकाली नदीपारीको दोधारा चाँदनी नगरपालिकामा भारु नोटको प्रतिबन्धले असर पुरयाएको छ । कञ्चनपुरका साथै कैलाली, बैतडी, डडेल्धुरा, दार्चुलालगायतका भारतसित सीमा जोडिएका जिल्लामा समेत भारु नोटको प्रतिबन्धको प्रभाव देखिएको बताइएको छ ।